तिब्बती शरणर्थीहरुसँग पाँच लाख लिँदै, काठमाडौंमा नागरिकता दिँदै

तिब्बती शरणर्थीहरुसँग पाँच लाख लिँदै, काठमाडौंमा नागरिकता दिँदै

नेपालमा रहेका सयौं तिब्बती शरणार्थीले पाँच लाख रुपैयाँसम्म तिरेर नागरिकता लिएको रहस्य खुलेको छ । गिरोहलाई पाँच लाख रुपैयाँसम्म दिएर उनीहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सक्कल नागरिकता लिएका हुन् । 

प्रहरीले तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय गिरोह पक्राउ गरेपछि मिलेमतोमा सिडिओ कार्यालयबाट सक्कली नागरिकता दिइएको रहस्य खुलेको हो । पाँच जनाको गिरोहले मिलेमतो र कीर्तेमा सयौं तिब्बतीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खुलेको छ ।

झापा घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका १, इमाडोल बस्ने ४० वर्षे कृष्णबहादुर कटुवालसहितको टोली पक्राउ परेपछि तिब्बतीहरुले नागरिकता प्राप्त गर्दै आएको गम्भीर अपराधको पर्दा खुलेको हो । सोही क्रममा जिल्ला प्रशासन कार्यालयका बहालरत र केही पूर्व कर्मचारीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रहरीले भक्तपुर बस्दै आएका बबरमहलका ७० वर्षे न्युल्केश श्रेष्ठ, ललितपुरको धोबिघाटमा बस्दै आएका मोरङका ४९ वर्षे हिरालाल सिवाकोटी,तनहुँको दुलेगौंडास्थित तिब्बती शरणार्थी क्याम्पका २५ वर्षे लोब्साङ ठिन्ले र ललितपुरको गोदावरी ७ का ३० वर्षे विजय लामालाई समेत नागरिकता काण्डमा पक्राउ गरिएको जनाएको छ ।


उनीहरुले काठमाडौंको बबरमहल क्षेत्रमा सम्पर्क स्थान बनाएर सरकारी कार्यालयहरुको कागजात,छाप र कर्मचारीको दस्तखत कीर्ते गरेको सिफारिसपत्र बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले तिब्बतीलाई नागरिकता दिलाएको, विभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्र,सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध विच्छेद र  वडा कार्यालयको सिफारिस बनाएको प्रमाणसमेत प्रहरीले फेला पारेको छ । 

हाल नागरिकता ऐन तथा लिखतसम्बन्धी कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएका अभियुक्तहरुले यसरी तिब्बतीलाई नागरिकता दिएको पाइएको हो ।

कृष्णबहादुर कटवालले हिरालाल सिवाकोटी समेतको सहयोगमा १० वर्षदेखि कीर्ते काम गर्दै आएका थिए । नागरिकतालगायत अन्य कागजात पनि कीर्ते बनाएको प्रहरीको दाबी छ ।

उनै कृष्णबहादुरले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बती शरणार्थीहरुलाई सक्कल नेपाली नागरिकता बनाउने काम गरेको पाइएको हो । त्यो काममा उनले नै तिब्बतीहरुको निम्ति नक्कली पिता बनाएको पनि देखिन आएको छ । ७० वर्षका न्युल्केश श्रेष्ठलाई कटवालहरुले मिङछुङ शेर्पा नामको नक्कली नेपाली नागरिकता बनाएर हरेक पटक १० हजार रुपैयाँ दिई भाडामा नक्कली बाबु खडा गरेको पाइएको छ ।

उनै श्रेष्ठ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित भएर शरणार्थीहरुले नागरिकता लिने बेलामा बाबु बनेर सनाखत गरिदिन्थे । न्युल्केश श्रेष्ठ बाबु बनेर हालसम्म तिब्बतीहरु सोनाम छोडेन,टासी शेर्पा, यशोदा शेर्पा, नाम्से शेर्पालगायतले सक्कल नागरिकता लिएको खुल्न आएको छ ।

यो काममा कटवालले नेपाली सक्कली नेपाली नागरिकता दिलाएपछि प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म लिने गरेको पाइएको हो । पक्राउ परेका लोब्साङ ठिन्ले तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका देखिन्छन् । उनले गत फागुन ३० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लोब्साङ ठिन्ले गुरुङको नाममा नागरिकता लिएको पाइएको छ ।

उनले स्थायी ठेगाना कामनपा १७ राखेका छन् । उनको नागरिकता नम्बर २७–०१–७९–१५९०१ हो । यसरी नागरिकता लिएका अन्य ३० जनामाथि थप अनुसन्धान भएको बताइन्छ । पक्राउ परेका अभियुक्त विजय लामा पछिल्लो एक दशकदेखि सिडिओ कार्यालयको क्यान्टिनमा काम गर्दै आएका थिए । उनले नै सिडिओ कार्यालयभित्रको सेटिङ मिलाएको प्रहरीको दाबी छ ।

लामाले जिल्ला प्रशासन कार्यालयभित्र मिलाउने नाममा प्रतिनागरिकता १ लाख ५० हजारसम्म बुझेको बताइन्छ । पक्राउ परेका कटवाल मार्फत् पछिल्लो छ वर्षमा पाँच सयभन्दा बढीलाई गैरकानुनी तरिकाले नागरिकता दिलाएको आशंका छ ।

टिप्पणीहरू