रोजगारी सिर्जना अनुकूलको नीति तर्जुमा गर्न शैक्षिक अगुवाहरुको सुझाव

रोजगारी सिर्जना अनुकूलको नीति तर्जुमा गर्न शैक्षिक अगुवाहरुको सुझाव

ऋषि भट्टराई

बुटवलका शैक्षिक अगुवाहरुले रोजगारी सिर्जना अनुकूलको नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिएका छन् ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न नगरभित्रका शैक्षिक अगुवाहरुसँग गरेको छलफलमा उक्त सुझाव प्राप्त भएको हो ।कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख र अध्यक्षहरुले शिक्षण संस्थाहरु बेरोजगार उत्पादन गर्ने थलोका रुपमा परिचित हुने अवस्था आएको उल्लेख गरे ।त्यसतर्फ समयमै सोच विचार गर्न सुझाव दिइएको छ । संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्राधिकारअनुसार रोजगार सिर्जना र आत्मनिर्भर अनुकूलको नीति र कार्यक्रम ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।

विद्यार्थीहरु न्यूनतम तहको अध्ययन पूरा गर्न अध्ययन गरिरहेको उल्लेख गर्दै उनीहरुले भने, ‘विदेश जानेको संख्या दिनहुँ वृद्धि हुँदै गएको छ । सोही बमोजिमको नीति तथा कार्यक्रम ल्याउनेतर्फ गम्भीर हुनुपर्यो ।’ कार्यक्रममा सहभागी क्याम्पस प्रमुख तथा अध्यक्षहरुले संघीय सरकारले प्रदेश र स्थानीय सरकारमार्फत गर्नुपर्ने काममा अलमल भएकोतर्फ इंगित गरेका छन् । त्योसँगै अधिकार प्रयोगमा समेत चासो दिन सुझाव दिएका छन् । शैक्षिक क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले दक्ष जनशक्तिको अभाव भएकोतर्फ सरकारी निकायले चासो दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षा क्षेत्रमा बुटवललाई अग्रणी बनाउन सार्वजनिक निजी क्षेत्रको भूमिका पनि उत्तिकै रहेको उल्लेख गरे । उनले बुटवल उपमहानगरपालिकाले समाधान गर्न सक्ने समस्या बुटवलबाटै समाधान गर्ने र अधिकारक्षेत्रबाहिरका समस्या संघ र प्रदेशमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । 

सुझाव संकलन कार्यक्रमअन्तर्गत पहिलो चरणको कार्यक्रमपछि दोश्रो चरण थालिने सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताइन् ।

टिप्पणीहरू