मुर्दावाद भनिएको ठाउँमा पुगेपछि प्रधानमन्त्रीको छोरीको कानको टप गायब
प्रधानमन्त्रीका रुपमा सफल हुनु त छँदैछ, त्योभन्दा बढी पार्टीको गिर्दो साख उकास्नुपर्ने दबाबमा हुनुहुन्छ पुष्पकमल दाहाल प्रचण्ड । नेताका कार्यशैलीका कारण व्यवस्थामाथि मडारिएको कालो बादल हटाउनुपर्ने जिम्मेवारी पनि कार्यकारीको हैसियतमा उहाँकै जिम्मामा हुने नै भयो ।
त्यसकारण प्रतिनिधिसभाका दुई ठूला दललाई ‘थाङ्नामा सुताएर’ प्रधानमन्त्री बन्न सफल भए पनि राजनीतिक रुपले सबैभन्दा बढी तनाव यतिबेला प्रचण्डलाई नै छ । चैत ७ गते आफ्नो निर्वाचन क्षेत्र गोर्खाको पालुङटारमा २० किलोमीटर सडक स्तरोन्नति र कालोपत्रे शिलान्यास गरी फर्केलगत्तै ५८ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन कार्यक्रममा पुग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई तीनभाइ युवाहरुले मूर्दावादको नारा लगाए । थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्रीकै सामुन्ने युवाहरुले व्यवस्थाको विरोधमा चर्को नाराबाजी गरे ।
साढे ११ बजेको निम्तो पाए पनि गोर्खाबाट फर्किंदा फर्किंदै ढिला हुँदा २ बजेतिर त्यहाँ पुग्नुभएका प्रधानमन्त्रीलाई ‘केही कुरा राख्न पाउँ’ भन्दै एक युवा अघि सरे । तर, प्रहरीले ती युवालाई प्रधानमन्त्रीसम्म पुग्न दिएन बरु रोक्न खोजेपछि ‘आतंककारी, हत्यारा प्रचण्ड मूर्दावाद’ भन्दै उनीहरुले अराजकता मच्चाउन थाले ।
प्रधानमन्त्रीकै अगाडि नाम किटेर मुर्दावादको नारा लागेपछि प्रहरीले समातेर भ्यानमा कोचे पनि ती युवा उफ्रन छाडेनन् । प्रहरीले मुक्का हान्दै मुख थुन्न खोज्दा अर्का एक जनाले ‘मुख बन्द गर्न पाइँदैन’ भन्दै झन् चर्किएर नारा लगाए । दुबैजनालाई प्रहरीले भ्यानमा मात्र कोचेन मुक्का हान्दै भ्यानभित्रै लडाएर थानामा लग्यो ।
बाहिर आफूविरुद्ध नाराबाजी भइरहँदा प्रधानमन्त्री प्रचण्ड भने भित्र भाषण गर्दै हुनुहुन्थ्यो । आफूले नेतृत्व गरेको जनयुद्धकै कारण दलित समुदायले हक अधिकार पाएको र अझै एक धक्का लगाउनुपर्ने उहाँको भाषण चलिरहँदा छोरी गंगा भने एउटा कानको टप हराएकोमा तनावमा थिइन् । गंगाको कानको टप हराएपछि सैनिक एडिसी र प्रहरीले निकै खोजी गरे, तर फेला पार्न सकेनन् ।
पाँच सात मिनेट जति आफ्नो मन्तव्य राखेर प्रचण्ड निस्कँदै गर्दा सेतो दौरा सुरुवालमा कालो कोट लगाएका सेनाका मान्छेले प्रहरीलाई समेत धक्का मार्दै ठाउँ खाली गराएर निकाले । बा.२ झ १९३६ नम्बरको मर्सिडिज कारमा पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड फर्केलगत्तै सहभागी दलित नेताहरुले पनि त्यहाँको परिस्थितिलाई उतिसारो निको मानेनन् ।
यता, चार सय हाराहारीलाई खाजाको व्यवस्था गरिएको भए पनि कार्यक्रममा उपस्थितको संख्या छ सय पुगेपछि खाजा नपुगेर अर्को तनाव । एउटा समोसा र जेरीसमेत आफ्नो भागमा नपरेपछि सहभागीहरु आयोजकप्रति झन् रुष्ट देखिए ।
-अञ्जनकुमार
टिप्पणीहरू