घरमा ताल्चा लगाएर हिँडेर काठमाडौँ निस्केको मीटरब्याज पीडितको टोली हेटौँडा आइपुग्यो
प्रधानमन्त्रीलाई पीडा सुनाउन काठमाडौँको पैदलयात्रामा निस्केका मधेस प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुर आज हेटौँडा आइपुगेका छन् ।
स्थानीयस्तरमा थुप्रैचोटी आन्दोलन गर्दा पनि न्याय नपाएर थप पीडामा परेका परेका उनीहरु सरकारलाई घचघच्याउन हिंडेरै काठमाडौँका लागि निस्केका थिए । आठ दिनको पैदलयात्रापछि आज उनीहरु हेटौँडा आइपुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मीटरब्याजीले दिएको पीडा सुनाउने तयारीका साथ बर्दिबासबाट पैदलयात्रामा निस्किएको टोलीमा ६२ जना छन् । उनीहरुले सरकारको कुनै पनि निकायबाट साथ, सहयोग नपाएपछि न्यायको खोजीमा काठमाडौँ जान लागेको बताए ।
सुद्खोरहरुले दिएको पीडा सहन नसकेपछि बाध्य भएर काठमाडौं आउन लागेको मीटरब्याजविरुद्ध संघर्ष समितिका अध्यक्ष मनोजकुमार पासवानले बताए । प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पीडा सुनाउनका लागि ‘बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म मीटरब्याजविरुद्ध पीडितहरुको मोर्चा’ निकालिएको उनको भनाइ छ ।
उनकाअनुसार काठमाडौं आइपुग्न अझै पाँचदेखि ६ दिन लाग्नेछ । तमसुक व्यवस्था खारेज नगरेसम्म आफूहरु यहाँबाट नफर्किने उनी बताउँछन् । ‘हाम्रो माग तमसुक व्यवस्था खारेज गर्नुपर्ने र सुद्खोरहरुले गरिब मारेर जोडेको सम्पत्ति कानुनको दायरामा आउनुपर्छ भन्ने मात्र हो । सुद्खोरहरुले हामीलाई असह्य पीडा दिएका छन्’, पासवानले भने,‘हामी त्यहाँ आएर मन्त्रीसंग भेट्दैनौं । सिँधै प्रधानमन्त्रीलाई भेट्छौं । उहाँलाई आफ्नो पीडा सुनाउँछौं । सम्बोधन भए ठिकै छ, नत्र धर्ना दिनेछौं ।’
सबै जनाबाट एक–दुई हजार रुपैयाँ उठाएर बाटोमा गुजारा गरिरहेको उनले जानकारी दिए । घरमा ताल्चा लगाएर आठ दिनदेखि न्यायको खोजीमा हिँडिरहेको टोलीमा कति बालबालिका पनि छन् ।मीटरब्याज पीडितहरु लामो समयदेखि आन्दोलनमा छन् । सुद्खोरको आतंक रोक्नुपर्ने माग राख्दै उनीहरुले यसअघि पनि आन्दोलन गरेका थिए । सरकारले मीटरब्याज पीडितको समस्या समाधान गर्न कार्यदल बनाए पनि त्यसले प्रभावकारी ढंगबाट काम गर्न नसकेको पीडितहरुको आरोप छ ।
लामो समयदेखि न्यायको माग गरेका पीडितहरुले अनेकौं हण्डर खाइरहेका छन् । मीटरब्याजीले दिएको पीडाका कारण ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।
टिप्पणीहरू