धादिङका दम्पत्ति सक्कली, चितवनका छोरा नक्कली

धादिङका दम्पत्ति सक्कली, चितवनका छोरा नक्कली

अरुको छोरालाई आफ्नो छोरा उल्लेख गरेर झुठो विवरण पेश गरी जन्मदर्ता बनाइदिन खोजेका धादिङका एक दम्पत्ति पक्राउ परेका छन् । दम्पत्तिसँगै नक्कली छोरा बनेका युवक पनि पक्राउ परेका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर वडा नम्बर १२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका हुन् ।

५७ वर्षीय नगरकोटी दम्पत्तिले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशन नगरकोटी उल्लेख गरेर वडा कार्यालयमा झुटो विवरण पेश गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको पत्ता लागेको थियो । लगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको ज्वालामुखी ६ का वडाध्यक्ष किशोर सेढाईंले जानकारी दिए । 

झुटो विवरण पेश गरेर बनाएको जन्मदर्ताको आधारमा नेपाली नागरिकता (वंशज) प्रमाणपत्रको निम्ति अनुसूची १ बमोजिमको फारम समेत भरेको अवस्थामा शंका लागेर सोधखोज गर्ने क्रममा सबै व्यहोरा झुठो प्रमाणित भएको वडा अध्यक्ष सेढाईंले बताए ।

पक्राउ परेका सबैलाई झुठो विवरण पेश गरी जन्मदर्ता प्रमाणपत्र बनाएको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । उनीहरुलाई धादिङ जिल्ला अदालतले हिजो ४ दिनको म्याद थप गरिदिएपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू