व्यक्ति हत्याका आरोपित एमाले सांसद अझै बेपत्ता

व्यक्ति हत्याका आरोपित एमाले सांसद अझै बेपत्ता

कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद लक्ष्मी कोइरीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन गृह मन्त्रालयले दुई महिनाअघि सर्कुलर जारी गरेपनि उनी अझै फरार छन् । 

दुई-दुई पटक प्रतिनिधिसभा बैठकमा पुगेका उनलाई राजनीतिक पहुँचका कारण प्रहरीले पक्राउ नगरेपछि तत्कालीन गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भएको थियो । त्यसपछि गृह मन्त्रालयले गत माघ ६ गते कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । तर,दुई महिना बितिसक्दा पनि उनी समातिएका छैनन् । 

सांसद कोइरीमाथि मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका असई थमन बिकको हत्या गरेको अभियोग छ । २०७७ सालमा जनकपुर उच्च अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश अवज्ञा गरी भागेका उनी अभियोग बोकेरै चुनावमा उठे र महोत्तरी-१ बाट निर्वाचित भए । 

मङ्सिर ४ को निर्वाचनमा उम्मेदवारी मनोनयनको मुखैमा जसपा परित्याग गरी बलियो पार्टी एमालेमा छिरेर सांसद जितेका उनी त्यसैको बलमा सांसदको सपथ खान र प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भएका थिए । चार तहको सुरक्षा घेरा छिचोलेर संसद बैठकमा पुगेका कोइरी प्रहरीको फरार सूचीमा छन् । 

कोइरीलाई उनको दल एमालेले संरक्षण गरेको र सरकारले नै जोगाएको आरोप पनि छ । त्यसकारण उनलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको जानकारहरु बताउँछन् । कोइरी केही समयअघि भारतको पटनामा रहेको चर्चा थियो । प्रहरी भने उनी कहाँ छन यकिन नभएको भन्दै पन्छिने गरेको छ ।

यसअघि कोइरीको बचाउमा एमालेले मधेस प्रदेशका विभिन्न स्थानमा प्रदर्शनसमेत गरेको थियो । माघ ११ गते जनकपुरमा प्रदर्शन गरेको एमालेले त्यसपछि कोइरीको गाउँ महोत्तरीको गौशालामा नागरिक समाजको आवरणमा उनको पक्षमा जुलुस निकालेको थियो ।

 

टिप्पणीहरू