मीटरब्याज पीडित पैदलयात्रीको जुलुसमा मिसिएका सिके राउत गाडीमा
महोत्तरीको बर्दिबासबाट काठमाडौंसम्म पैदलयात्रा गरेका मधेस प्रदेशका मीटरब्याज पीडितहरुले बिरोध र्याली गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका उनीहरुले मातातीर्थबाट र्याली निकालेका हुन् ।
मीटरब्याजी संघर्ष समितिको आयोजनामा शुरु भएको र्याली मातातीर्थ, गुर्जुधारा, सतुङ्गल, नैकाप, ढुंगेअड्डा, कलंकी, रविभवन, कालिमाटी, टेकु, त्रिपुरेश्वर हुँदै खुल्लामञ्चमा पुगेर बिरोध कार्यक्रम गर्ने तयारी छ ।
संघर्ष समितिका अध्यक्ष मनोज पासवानको नेतृत्वमा निकालिएको जुलुसमा बर्दिबासबाट हिँडेर काठमाडौँ आइपुगेका पीडितसँगै समितिका संरक्षक रामरिजन यादव, त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरु प्रेम विक, कुमार बर्तौला, सरु रिजाल, संघर्ष दाहाल, रामनरेश यादव लगायत सयौँको संख्यामा सहभागिता छ ।
र्यालीका सहभागीहरुले ‘झूठा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर’, ‘तमसुक व्यवस्था खारेज गर’, मीटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’, मीटरब्याजीलाई कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, मीटरब्याजविरुद्ध कानुन निर्माण गर’ लगायत नारा लेखिएका प्लेकार्ड देखाएका छन् ।
प्रधानमन्त्रीलाई आफ्नो पीडा सुनाउन घरमा ताल्चा लगाएर बालबच्चासहित १२ दिनअघि बर्दिबासबाट निस्किएका उनीहरु आज बिहान मातातीर्थ आइपुगेका हुन् । जनमत पार्टीका अध्यक्ष सिके राउतले उनीहरु रहेकै स्थानमा पुगेर भेटेका थिए । पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका राउत भने र्यालीमा सहभागी भएनन् । उनी आफ्नै गाडीमा फर्किएको बताइएको छ ।
टिप्पणीहरू