५० वर्षसम्म कुनै सवारी दुर्घटना नगराएका चालक बुटवलमा

५० वर्षसम्म कुनै सवारी दुर्घटना नगराएका चालक बुटवलमा

-ऋषि भट्टराई 

सुरक्षित यात्रा नेपालले बुटवलमा ४० जना चालकलाई सम्मान गरेको छ । बुटवल उपमहानगरपलिकाको आर्थिक सहयोगमा सम्मान गरिएको बताइएको छ । उनीहरुलाई बुटवल बसपार्कमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो । १० देखि ४९ वर्षसम्म निरन्तर सुरक्षित तवरले सवारी साधन चलाएका कुशल चालकहरुलाई सम्मान गरिएको आयोजकले जानकारी गराएको छ । 

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल बसपार्क सुधारको काम नगरपालिकाले थालेको जानकारी दिएका छन् । हालको बसपार्क साँघुरो भएको कारण बुटवल १२, रामनगरस्थित सामुदायिक वनको जग्गामा बसपार्क निर्माण गर्न लागिएको हो । 

प्रमुखले अब निःशुल्क आधुनिक शौचालय समेत निर्माण गरिने र बसपार्कमा उत्कृष्ट चमेनागृह निर्माण गरेर सोहीस्थानबाट यात्रुहरुले अन्य सेवा पाउने उल्लेख गरे । यातायात व्यवसायीहरुले गर्ने व्यवहार र भाषागत शुद्धतामा आवश्यक सुधार गर्नुपर्ने उनको सुझाव छ । व्यवसायीहरुले मैत्रीपूर्ण व्यवहार नगरेको गुनासो आएको सन्दर्भमा  मेयरले उक्त धारणा राखेका हुन् । 

बसको टिकट बसपार्क बाहिर लिनुपर्ने बाध्यतामा यात्रुहरु छन् । यसतर्फ सुधारको खाँचो रहेको उपमहानगरपालिका प्रमुखले बताए । बसापर्कमा उच्च क्षमताका ठूला बत्ति जडान गर्न लागिएको पनि मेयरले जानकारी दिए । 

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले व्यवसायी र चालकहरुले पनि सम्मानजनक व्यवहार नभएको उल्लेख गर्ने गरेको बताउँदै उनले यातायात व्यवसायलाई सम्मानित बनाउन सबैले साझा पहल गर्नुपर्ने धारणा राखेका छन् । दुर्घटना नगराउने, यातायातका नियम मान्ने चालकहरुलाई सरकारले नै सम्मान गर्ने वातावरण बनाउनुपर्नेमा प्रमुख जिल्ला अधिकारीको जोड छ । 

भारतीय सवारी साधनहरुको सीमा नाकामा नै बीमाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उनको उल्लेख गरे । यसबाट नेपाल भित्रिएपछि हुने दुर्घटना वा अन्य कारणबाट क्षतिपूर्तीको काम गर्न सहज हुने सिडिओको भनाइ छ । सार्वजनिक यातायात, निजी र अन्य सवारी साधन गुडाउने चालकको निम्ति छुट्टाछुट्टै व्यवस्था गर्न ढिलो भइसकेको अनुभव प्रमुख जिल्ला अधिकारी पाण्डेको छ ।

टिप्पणीहरू