खगेन्द्र संग्रौलाको ‘एक बागी’ बारे केही कुरा
– सुदर्शन प्रधान
बेला प्रकाशनले ‘एक बागी (खगेन्द्र संग्रौलाको साधना र संघर्ष) २०७९ कार्तिकमा छापेको छ । उज्ज्वल प्रसाईंबाट लेखन तथा सम्पादन भएको यो पुस्तक ४७६ पेजको छ । मूल्य रु. ९४५ राखिएको यो पुस्तक प्रकाशनमा प्रत्युष वन्त, दीपक भेटवाल र संगीत श्रोताको महत्वपूर्ण भूमिका भएको लेखकको कथन छ । यो पुस्तकप्रति लेखक उज्ज्वल प्रसाईं जति जिम्मेवार छन्, संग्रौलाको पनि उत्तिकै हिस्सा छ । किनकि लेखकले हरेक शीर्षक राखेपछि संग्रौलालाई पढ्न दिएको र तिनको राय–सुझावलाई मध्यनजर गर्दै परिष्कृत गरेको छनक पाइन्छ ।
पुस्तकमा नेपालको राजनीतिक, साहित्यिक र बौद्धिक जगतमा परिचित खगेन्द्र संग्रौलाको बाल्यकाल, पारिवारिक पृष्ठभूमि, किशोरकाल, युवाकाल, साहित्यिक र राजनीतिक ज्ञानको स्रोत, काठमाडौँ बसाइ, लमजुङ जिल्लाको खुदी र चुँदी, बन्दीपुर, दमौली अनि चितवनको भरतपुर हुँदै काठमाडौँमा पुनर्आगमनको व्याख्या छ । यस पुस्तकबाट संग्रौलाको जीवनका धेरै कुरा ज्ञात हुन्छ । साथसाथै उनका कमी–कमजोरी र गल्तीहरू पनि त्यहाँ छिपेका छन् । जुन विषय तिनलाई मात्र थाहा छ, जो उनको समीपमा थिए र उनलाई नियालिरहेछन् ।
इतिहासलाई यथार्थ रूपमा स्वीकार्नु, कमी–कमजोरी हटाउन तयार हुनु, निःस्वार्थ र इमान्दार रूपले प्रस्तुत हुनु भनेको प्रगतिशीलताको मूल आधार हो । उक्त पुस्तकको पेज १५८ मा कामरेड रोहितबारे संग्रौला भन्छन्, ‘रोहितले गम्भीर मुद्रा धारण गर्दैैै भने– नेकपा मालेको रवैया त देखिरहनु नै भएको छ । न कार्यदिशा ठीक छ न गतिविधि राम्रा छन् । यिनले भ्रम मात्र सिर्जना गरेका छन् । यिनीहरूको भण्डाफोर गर्दै एउटा उपन्यास लेख्नुस् न । तपाईं त सिर्जनशील मान्छे, यसो एक–दुई महिनामा लेखिहाल्नुहुन्छ । प्रकाशनको प्रबन्ध म मिलाउँला ।’
इतिहासलाई यथार्थ रूपमा स्वीकार्नु, कमी–कमजोरी हटाउन तयार हुनु, निःस्वार्थ र इमान्दार रूपले प्रस्तुत हुनु भनेको प्रगतिशीलताको मूल आधार हो ।
सधैँभरि नेताको लाइनबाट निर्देशित हुन इन्कार गर्ने खगेन्द्रले यसपाली पनि त्यही गरे । (उही पेज) तर रूपलाल विश्वकर्मावारे चाहिँ उनको कथन छ– ‘सर्वहारावादी कम्युनिष्ट लिगमा रूपलाल विश्वकर्माको नेतृत्वमा भएको नेपाल मजदुर किसान संगठनसँग एकता गर्नेवारे छलफल शुरु भएको हुन्छ । ... आफैँले स्वनाम साथी र रूपलालको भेट गराइदिएका थिए ...’ (पेज १६४) ।पुस्तकको कैयौँ ठाउँमा जुगेडी संघर्षका नेता, दलित जातिका नेता, न्यायको आवाज उठाउँदा निर्घात चुटाई खाएका इतिहासका योद्धा भनेर रूपलाललाई आदर्श नेताको रूपमा प्रस्तुत गरिएको छ । कांग्रेस पार्टीनिकट इतिहासविद् डा. राजेन्द्रप्रसाद रेग्मीको हवाला दिएर पनि रूपलाललाई एक महान् नेताको रूपमा प्रस्तुत गरिएको छ । वास्तवमा का. रोहित र रूपलाल विश्वकर्मा को हुन् त ? उनका यथार्थ कुरा कस्ता–कस्ता छन् ?
‘काठमाडौँ उपत्यकास्थित भक्तपुरका माक्र्सवादी नेता नारायणमान बिजुक्छे (कामरेड रोहित) एक आदर्श नेता हुन् । सन् १९८९ (वि.संं २०४५) मा भक्तपुरमा भूकम्पपीडित जनतालाई राज्यले राहत बाँड्ने क्रममा अनियमितता हुँदा जनआक्रोशको घानमा परेर राष्ट्रिय पञ्चायत सदस्य कर्ण हेजुको निधन भयो । त्यस घटनामा पञ्चायती सत्ताले थुप्रै सर्वसाधारण जनतालाई गिरफ्तार गरी ज्यान मुद्दा चलायो । त्यो संकटपूर्ण घडीमा कामरेड रोहितले प्रहरी प्रशासन र अदालतमाझ स्पष्ट भने, ‘मेरो नेतृत्वको ‘नेपाल मजदुर किसान संगठन’ को निर्णयअनुसार सरकारी अनियमितताविरुद्ध भएको प्रदर्शनमा एक व्यक्तिको मृत्यु हुन पुगेको हो । यसमा सर्वसाधारण जनताको कुनै दोष छैन । यदि, यसमा दोषी नै देख्ने हो भने त्यसको नैतिक जिम्मेवारी म लिन्छु । कानुनी कारबाही मलाई गर ! सर्वसाधारण सम्पूर्ण जनतालाई मुक्त गर ।’ त्यसपछि गिरफ्तार १०–१५ जना किसान छोडिए र का. रोहित पञ्चायती सत्ताको कालकोठरीमा पुगी बहुदलको आगमनलगत्तै छुटे ।’ (मनसुन– पृथ्वीको सुरक्षा कसरी हुन्छ ? मानव समाजमा शान्ति र सुव्यवस्था कसरी स्थापना हुन्छ ? पेज ३२–३३)
‘तब न नेता ! कति उच्च नैतिकवान् ! नेपालको राजनैतिक इतिहास र कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि नैतिकताको यो स्तर भएको कुनै नेता देखिन्न । उनको पार्टीका कुनै पनि नेता र कार्यकर्ता आजसम्म भ्रष्टाचारमा नमुछिनु का. रोहितको नेतृत्वको अर्को कीर्तिमान हो । स्मरण रहोस्, का. रोहितसँगै एकताका पार्टीको पूर्णकालीन भूमिगत भएका रूपलाल विश्वकर्मा सर्वहारावादी श्रमिक संगठनको अध्यक्ष हुँदा सन् १९८५ जुलाईको मध्यतिर (वि.सं. २०४१ असार ३२ गते) गुल्मी जिल्लाको पूर्तिघाट बैंक संघर्ष भएको थियो । जुन घटनामा फणिन्द्र आचार्य, तारापति पौडेल र धनीराम चौधरी चर्को यातनासहित डाँका आरोपमा जेल परे । योद्धाहरूले खुकुरीको धारमा हिँडेर ५ लाख २० हजार बराबरको धन पार्टीलाई प्राप्त भएको थियो । त्यस्तो धनमा रूपलाल गुटले पूर्ण भ्रष्टाचार ग¥यो । बूढी श्रीमती त्यागेर उनले भारतको मध्यप्रदेशस्थित महुमा बैण्ड बाजा बजाई अनमेल विवाह गरे । उनले बैंक संघर्षलाई राजनीतिकरण गरेनन्, पार्टीले जिम्मा लिएन र घटनालाई डकैतमा परिणत गराए । वास्तविकतामा रूपलाल स्वयं नै डाँकाहरूभन्दा निकृष्ट थिए । तत्कालीन अवस्थामा भनौँ सन् १९८९ (वि.सं. २०४५) मा पार्टी लाइन स्पष्ट हुन, नेतृत्वमाथिको शंका निवारण गर्न र पूर्तिघाट बैंक संघर्षको हिसाबकिताब देखाउन तत्कालीन केन्द्रीय लडाकू दलको अध्यक्ष तथा पूर्तिघाट बैंक संघर्षको कमाण्डर कामरेड उत्तमले सम्मेलन माग गरे । तर रूपलाल गुट र उनका आसेपासेहरू रूपलाललाई ढाकछोप गर्न र उत्तमलाई झुठा आरोपहरू लगाउन मात्र अभ्यस्त रहे । इतिहासमा ती कलंकित छन् र हुन्छन् जसले लाशहरूलाई बोकी हिँड्छन् । तिनले समाज र संसारमा के कति गर्लान् ? भविष्यले नै देखाउला ! बुभ्mने र समझदार मान्छेहरूका लागि वर्तमानमै केही त गरेकै छन् जसरी का. रोहितले भक्तपुर शहरमा प्रदर्शन गरे ।’ (उही)
‘कसै–कसैले भन्न सक्छन्– का. रोहितको पार्टी देशभरि किन पैmलिएन ? संसदमा बहुमत ल्याई सरकारको नेतृत्व किन गरेन ? उनीहरूलाई भन्न सकिन्छ राष्ट्रव्यापी विस्तार भएका ठुला पार्टीहरू जसले सरकारमा पुगेर पटक पटक राज्यको नेतृत्व गरे, के तिनीहरू सफल छन् त ? भ्रष्टाचार, अत्याचार, अनियमितता गरी अकुत धनसम्पत्ति जोडेर राष्ट्र र जनतालाई दुरुह र कंगाल तुल्याउनेहरू सफल हुन् ? इतिहास र भावी सन्ततिले कसको पथ अनुसरण गर्नेछन् ? का. रोहितको कि भ्रष्टाचारीहरूको ? एक मानेमा का. रोहित विजयी बन्नुभएको छ एक आदर्श बनेर ।’ (मनसुन– पृथ्वीको सुरक्षा कसरी हुन्छ ? मानव समाजमा शान्ति र सुव्यवस्था कसरी स्थापना हुन्छ ? पेज ३२–३३)
सन् १९८१ को नोभेम्बर ७ मा पूर्व सर्वहारावादी कम्युनिष्ट लिग र नेपाल मजदुर किसान संगठनको बीचमा पार्टी एकता भएर सर्वहारावादी श्रमिक संगठन अति हतारोमा बनेको हो । रूपलाल विश्वकर्माले जुगेडी संघर्ष र जुटपानी संघर्षको ब्याज खाएर मैदानी भेकको धनी किसान वर्गमा संगठन विस्तार गरेका थिए । उनी जनै लगाएर ब्राह्मण बनी भूमिगत जीवन गुजार्दै थिए । उनी क्रान्तिकारी हुन् त पहाडका चेपाङ, मगर, गुरुङ, तामाङ जातिको बीचमा संगठन र संघर्षको विकास गर्दै जाने कार्यदिशा लिनु पथ्र्यो । अनि मैदानी भेकका धनी किसान, निम्न पुँजीपति वर्गलगायतलाई क्रान्तिको पक्षमा परिचालन गर्ने कार्यदिशा तय गर्नु पथ्र्यो । २०३४ असारमा जुगेडी संघर्षपछि चितवन जिल्लाको पहाडमा एक पटक पनि गएनन् । २०३७ मा अर्को भोकमरी पर्दा जुटपानी संघर्ष उठाए । संघर्षको असफलता र नेतृत्वको गैरक्रान्तिकारी नीतिले त्यहाँको संगठन ओरालो लाग्दै गयो । २०४१/०४२ तिर त संगठन शून्यजस्तै थियो ।
सन् १९८८ को वर्षाबाट रूपलाल गुटसँग चर्को अन्तरविरोध भएपछि पार्टी नेतृत्वको गैरक्रान्तिकारी प्रवृत्ति, जनयुद्धको नीतिप्रति नफरत, पूर्तिघाट बैंक संघर्षको रु. ५ लाख २० हजारको रकमबारे साथीहरूलाई यथार्थ कुराहरू जानकारी गराउने सिलसिलामा म खगेन्द्र संग्रौला बस्ने काठमाडौँ, चाबेलमा पुगेको थिएँ । उनले शुरुमा ‘संकटको घडी’ नामक हाम्रो दस्तावेज पढे र यथार्थ कुराहरू सुने । पार्टी सम्मेलनको पक्षमा उभिने वचन दिए । तर पछि रूपलालहरूसँग भेटेर नै होला क्रुद्ध बन्दै भने, ‘तिमी नेता बन्ने महात्वाकांक्षा बोक्नुभन्दा आफ्नो हैसियतअनुसार तल बसेर आदेशको पालना गर्दै काम गर्ने मनुवा हौ, ... एक बारको जिन्दगानीमा राम्रो कर्म गरेर जाऊ !...’
नारायणी, काली र सेती नदी किनारहरू र त्यस सेरोफेरोका पहाड, पर्वतहरूमा संगठन विस्तार, छापामार कारबाहीको नेतृत्वजस्ता कारणहरूले केन्द्रीय लडाकु दलको भेलाले मलाई अध्यक्ष चुन्यो । त्यसपछि छापामार गुरिल्ला युद्ध सञ्चालन गर्न नेपाल–भारत सीमाको घनाजंगलमा ६ दिने यात्रा गरियो । प्रशिक्षण शिविर सञ्चालन गर्न रासन, पुस्तक सामग्री, हतियार, लजिस्टिकका लागि रूपलालसँग रु. १ लाख माग गरियो । उनीहरूले ‘हुन्छ, पठाउँछौँ, दिन्छौँ.....’ भने तर कहिल्यै पठाएनन्, दिएनन् । त्यसको मूलकारण रूपलालहरूमा जनयुद्धको नेतृत्व गर्ने न आँट थियो न कार्यदिशा । त्यही कारण बूढी श्रीमतीलाई जबर्जस्ती त्यागेर १८ वर्षकी केटीसँग भारतको महुमा अनमेल विवाह मात्र हैन कि बैण्डबाजा बजाएर त्यो अमूल्य धन फुके । यो २०४३/४४ को कुरा हो ।
जहाँसम्म सुमनको कुरा छ, वास्तविक क्रान्तिको तयारी गर्ने मेरो प्रस्तावबाट उनी पनि भयभित बनेकै छन् । २०५५/०५६ भनौँ सन् १९९८/०९९ तिर एकदिन साप्ताहिक जनएकतामा खगेन्द्र संग्रौलाको एउटा लेख आएको थियो । जसमा एउटा कार्यकर्ताले ‘मेरो स्थान कहाँ हो ?’ भनेर प्रश्न गर्दा ‘तेरो स्थान यहाँ हो र कर्तव्य यो यो हो’ भनेर आदेश फर्मान गर्ने यो मान्छे स्वयंको स्थान कहाँ हो ? के हो ? भनेर परपीडा पोखेका थिए ।
सन् १९९४।९५ तिर ‘साप्ताहिक जनएकता’ मै हुनुपर्छ संग्रौलाले रूपलालवारे एउटा लेख लेखे– ‘न रूप, न लाल, रूपलाल’ । जहाँ उनको व्यवहारिक र सैद्धान्तिक टाट पल्टाईको व्याख्या थियो । सन् २००४।०५ तिर कान्तिपुर दैनिक हो वा अन्य कुनैमा हो का. रोहितवारे एउटा साहित्यिक कार्यक्रमको वर्णन थियो । त्यसमा संग्रौला लेख्छन्, ‘भक्तपुरको साहित्यिक कार्यक्रममा कविहरू मञ्चमा थिए, दर्शकदिर्घामा का. रोहित । उहाँले सबैका कविता राम्ररी सुन्नुभयो... तब न नेता । नेपालमा यो स्तरको नेता दुर्लभ छ... उनीहरू त प्रायः सबैलाई आफ्ना झुसिला कुराहरू पिलाउन र मञ्चमा बस्न मात्र लालायित हुन्छन् ...।’
माथि का. रोहित र रूपलालवारे संग्रौलाको विश्लेषण न्यायिक र सत्यको नजिक थियो । तर २०७९ मा छापिएको खगेन्द्र संग्रौलाको ‘एक बागी (खगेन्द्र संग्रौलाको साधना र संघर्ष)’ मा चाहिँ का. रोहितलाई मानमर्दन गरिएको भाव छ भने रूपलाललाई इतिहासको नायकका रूपमा स्थापित गर्ने दुष्प्रयास छ ।
सम्भवतः रूपलाल विश्वकर्मा मृत्युअघि माक्र्सवादलाई हिलो छ्याप्दै सामन्ती पुँजीवादी पार्टीमा प्रवेश गरेका थिए ।
टिप्पणीहरू