नेविसंघमा अर्को किर्ते, पत्र आतंक मच्चाउनेलाई नछाड्ने चेतावनी

नेविसंघमा अर्को किर्ते, पत्र आतंक मच्चाउनेलाई नछाड्ने चेतावनी

नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मा भएको अर्को किर्ते काण्ड बाहिरिएको छ । आन्तरिक विवादमा रुमलिएको संघमा संस्थापन खेमाले असन्तुष्ट पक्षलाई लेटरप्याड र अध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोप लगाएको छ । 

संघको नक्कली लेटरहेड बनाएर केही सदस्यहरुले अध्यक्षको किर्ते हस्ताक्षर गरेको भन्दै केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेपछि कारबाहीको चेतावनी दिइएको छ । अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघका मुख्य सचिव विजय खड्काले आज विज्ञप्ति जारी गर्दै लेटरहेड दुरुपयोग गर्नेलाई त्यसै नछाड्ने बताएका छन् । 

फोटोसपमा लेटरप्याड बनाएर बाँके, बर्दिया, रुपन्देही र कास्कीमा पत्र आतंक मच्चाइएको भन्दै खड्काले त्यस्ता गतिविधिमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिए । ‘नेपाल विद्यार्थी संघको लेटरप्याड र केन्द्रीय अध्यक्षज्यूको हस्ताक्षर प्रयोग गरी बाँके, बर्दिया, रुपन्देही र कास्कीमा भएको पत्र आतंकप्रति नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यस्ता पत्रको भ्रममा नपर्न आग्रह गर्दै बाँकेमा उपेन्द्रबहादुर बिष्ट, बर्दियामा असिम विक्रम शाह, रुपन्देहीमा सन्दिप पाण्डे र कास्कीमा नसिव गुरुङ आधिकारिक अध्यक्ष रहेको उल्लेख छ । अरु कसैका नाममा गरिएका पत्राचार आधिकारिक नहुने पनि जनाइएको छ ।  

नेविसंघले स्ववियु निर्वाचनलाई लक्षित गरी विभिन्न समिति तथा संयोजक तोक्दा असन्तुष्ट खेमाले छुट्टै सर्कुलर गरेपछि यसअघि पनि केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर खण्डन गरेको थियो । त्यतिबेला लेटरप्याड किर्ते गरेको भन्दै यसैगरी कारबाहीको चेतावनी दिइएको थियो ।

टिप्पणीहरू