माथिबाट त मर्यादा पास भयो,अब के गर्छन् श्रीमानले ?
राष्ट्रिय सभाले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सर्वसम्मत स्वीकृत गरेको छ । सरकारका मन्त्रीको सट्टा सांसदहरुले गैरसरकारी विधेयकको रुपमा प्रस्तुत गरेर राष्ट्रिय सभाको बैठकबाट आइतबार पारित गराएका हुन् ।
यता सरकारले भने आफूलाई उक्त विधेयकबारे कुनै जानकारी नभएको बताएको छ । विधेयक नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद डा. वेदुराम भुसालले प्रस्तुत गर्नुभएको थियो ।
विधेयकमाथिको छलफलमा सबैभन्दा पहिले एमालेकी डा. विमला राई पौड्यालले भाग लिएको बताइएको छ । त्यसपछि स्वतन्त्र खिमलाल देवकोटा, एमालेकी दिलकुमारी रावल थापा क्षेत्री, माओवादीका मायाप्रसाद शर्मा,एमालेकी तुलसाकुमारी दाहाल, एकीकृत समाजवादीकी मदनकुमारी साह, एमालेकी सुमित्रा बिसी, एकीकृत समाजवादीकी जयन्तीदेवी राई र नेपाली काँग्रेसकी अनिता देवकोटा र माओवादीले छलफलमा भाग लिएका थिए ।
राष्ट्रिय सभाबाट पारित भए पनि उक्त विधेयक प्रतिनिधि सभाबाट तत्काल पास हुने सम्भावना नरहेको बताइन्छ । संविधानमा लेखिएको प्रोटोकललाई तल झारेर बनाइएको उक्त विधेयकबारे असन्तुष्टि उत्पन्न भइसकेको छ ।
अब यसबाट मुलुकको न्याय क्षेत्र पनि आन्दोलित हुने अवस्था उत्पन्न भएको छ । न्याय क्षेत्रले मर्यादासम्बन्धी विधेयक २०७९ लाई संविधान विपरित भनेकाे छ ।



टिप्पणीहरू