माओवादी नेता शिवचन्द्र कुशवाहद्वारा पार्टी परित्याग, उपेन्द्र यादवलाई हराउने उद्घोष
नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाहले पार्टी परित्याग गरेका छन् । उनले माओवादी केन्द्र छाडेसँगै जनमत पार्टी प्रवेश गरेको बताएका छन् ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा बारा २ मा माओवादी केन्द्रको उम्मेदवार रहेका उनी वर्तमान उपराष्ट्रपति तथा जसपाका तत्कालिन उम्मेदवार रामसहायप्रसाद यादवसँग झिनो मतले पराजित भएका थिए । उनै कुशवाहलाई जनमत पार्टी अध्यक्ष सीके राउतले पत्रकार सम्मेलन गरेर स्वागत गरेका हुन् ।
बारा २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा माओवादीले उपेन्द्र यादवलाई समर्थन गर्ने संकेत पाएपछि कुशवाह रुष्ट भएका थिए । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूमाथि पार्टी नेतृत्वले भयंकर षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
उनले आगामी उपनिर्वाचनमा उपेन्द्र यादवले उम्मेदवारी दिए हराएरै छाड्ने उद्घोष गरेका छन् । उनले भने, ‘जनभावनाअनुसार जनमत पार्टी रोजेको हुँ ।’
टिप्पणीहरू