गणेशले हात झिकेको ठाउँमा रास्वपाको चुनावी कमाण्ड अशोकले सम्हाल्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बैशाख १० गते हुन गइरहेको उपचुनावका लागि बारा क्षेत्र नं. २ को निर्वाचन परिचालनको जिम्मा अशोककुमार चौधरीलाई सुम्पिएको छ ।
यसअघि केन्द्रीय सदस्य गणेश कार्कीलाई परिचालन समितिको संयोजक तोकिएकोमा उनले आफू जिम्मा नलिने भन्दै राजीनामा दिएपछि चौधरीले उक्त जिम्मेवारी पाएका हुन् । रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बारा-२ को समग्र चुनावी गतिविधि संचालनको जिम्मा अब चौधरीले पाएको जानकारी दिए ।
उनले आज जारी गरेको सूचनामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचनका गतिविधिहरु सञ्चालन गर्न केन्द्रीय सदस्य गणेश कार्कीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएकोमा उनले संयोजकको पदबाट राजीनामा दिएको हुनाले उक्त निर्वाचन क्षेत्रको निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी अशोककुमार चौधरीलाई दिइएको छ ।’
यसअघि कार्कीको नेतृत्वमा रास्वपाले निर्वाचन समिति गठन गरेको थियो । तर, उनले आफ्नो व्यक्तिगत तथा स्वास्थ्यको कारण देखाएर काम गर्न नसक्ने बताएका थिए । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमाले-जसपा गठबन्धनबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा क्षेत्र नं. २ मा उपचुनाव हुन लागेको हो ।
टिप्पणीहरू