तनहुँ र बाराको निर्वाचनमा भिड्न दुई दर्जन दल तयार

तनहुँ र बाराको निर्वाचनमा भिड्न दुई दर्जन दल तयार

निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि दर्ता भएका पार्टीको विवरण सार्वजनिक गरेको छ । 

उपचुनावका लागि तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ का लागि २६ वटा दल दर्ता भएको आज विज्ञप्ति जारी गर्दै आयोगले सार्वजनिक गरेको हो । चितवन निर्वाचन क्षेत्र नम्बर २ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ । त्यहाँ १८ वटा दल दर्ता भएका छन् ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दर्ता भएका राजनीतिक दलहरुको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिएका छन् । 

त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम निर्वाचन चिह्न निर्धारण गरी उपनिर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई ती दलहरुले संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमको आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय समेत भएको आयोगले जनाएको छ ।
 

टिप्पणीहरू