सुराकी खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको घोषणा
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुराकी खर्च’ प्रणालीलाई खारेज गर्ने घोषणा गर्नुभएको छ ।
आज गृह मन्त्रालयको कार्यभार सम्हालेलगत्तै उहाँले सुराकीको नाममा गृहमन्त्रीले खर्च गर्न पाउने व्यवस्था खारेज गराउन क्याबिनेटमा प्रस्ताव लैजाने निर्णय गर्नुभएको हो । प्रहरी अनुसन्धानका क्रममा मन्त्रीको तजबिजमा गृहले सुराकी परिचालनको नाममा ठूलो रकम खर्च गर्न पाउने व्यवस्था छ ।
त्यस्तै, मीटरब्याजको समस्या समाधानको निम्ति कानुन संशोधन गर्नेगरी विधेयक पारित भइरहेकाले आयोग गठन गरेर काम कारबाही अगाडि बढाउने पनि गृहमन्त्री श्रेष्ठले निर्णय गर्नुभएको छ ।
आज भएको क्याबिनेट पुनर्गठनमा श्रेष्ठको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई गृहको जिम्मेवारी दिनुभएको थियो । शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उहाँले उक्त महत्वपूर्ण निर्णय गर्नुभएको हो ।
टिप्पणीहरू