‘ग्लोबल मनी विक’ मा हिमालयन बैंकको वित्तीय साक्षरता
हिमालयन बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चैत्र ६ देखि १२ गतेसम्मको ‘ग्लोबल मनी विक’ लाई वित्तीय साक्षरता हप्ताको रुपमा मनाएको बताइएको छ ।
उक्त अवधिमा मुलुकका सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सफलताका साथ सम्पन्न भएको बैंकले जनाएको छ । उक्त कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र प्रदेशभित्र रहेका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरेका हुन् ।
विभिन्न कलेजका विद्यार्थी, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यवसायी, बैंकका ग्राहकवर्ग र सो स्थानीयको सहभागितामा कार्यक्रम सञ्चालन गरिएकोे थियो । साथै, सहभागीहरुलाई बैकिङ्ग क्षेत्रको आधारभूत ज्ञान दिइएको थियो भने वित्तीय साक्षरताको महत्वबारे पनि जानकारी दिइएको बताइन्छ ।
यस्तै, वित्त व्यवस्थापनको निम्ति व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने तरिका, बचत बानी सुधार गर्ने तरिका, बैंकले प्रवाह गर्ने विभिन्न कर्जालगायत सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानूनी रुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानून विपरीतका हुण्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिकाजस्ता विषयमा पनि विस्तृत ज्ञान प्रदान गरिएको जनाइएको छ ।
टिप्पणीहरू