मानसिक रुपमा कमजोर बालबालिकाको निम्ति संगीत विद्यालय वरदान

भिडियो : सिन्ह्वा

मानसिक रुपमा कमजोर बालबालिकालाई लक्षित गरेर चीनमा संगीत विद्यालय सञ्चालनमा ल्याइएको छ । पूर्ण रुपमा ‘अटिस्टिक’ रोगसँग लडिरहेकालाई मध्यनजर गरेर एक दशकअघि खोलिएको विद्यालयले बालबालिकालाई संगीतसँगै माया र हेरचाह गरिरहेको छ । 

एउटी अटिस्टिक बालिकाकी आमाले शेन्जेन शहरमा ‘एट म्युजिक इन्सेम्बल’ सञ्चालनमा ल्याएकी हुन् । संगीतको माध्यमबाट उनीहरुलाई रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएर सन लिलीले विद्यालय खोल्ने निर्णय गरेकी हुन् । आफूलाई मात्र नभई अरुलाई पनि सोही पीडा भएको महशुस गरेर अघि बढेकी उनले सफलता हासिल गरेको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

इन्सेम्बलकी शिक्षिका चेन हुलिङ संगीतले उनीहरुलाई खुशी ल्याइदिएको बताउँछिन् । त्यहाँ समूह हुने भएकाले उनीहरुले सहज महशुस गर्ने गरेको उनको भनाइ छ । उनीहरुले संगीत निकै मनपराउने उनको बुझाइ छ । संगीतले उनीहरुलाई भविष्यको मार्ग देखाउनेमा आफू विश्वस्त रहेको सन बताउँछिन् ।

उक्त विद्यालयमा संगीत सिकेका बालबालिकाहरु एक सयभन्दा बढी कार्यक्रममा सहभागी भइसकेका छन् । पहिलो कन्सर्टमा तीन सयकोे निम्ति व्यवस्था गरिए पनि सात सय बढीले सहभागिताका लागि नाम लेखाएका थिए ।

टिप्पणीहरू