सांघाईको हुआङपूदेखि थिएनन्चिनको हाईहे नदीसम्मको असाधारण यात्रा
चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तरी चीनको बन्दरगाह सहर थिएनन्चिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) को २५औँ शिखर सम्मेलनको अध्यक्षता गर्दै साझा भविष्यसहितको अझ घनिष्ठ एससीओ समुदाय निर्माणका लागि संयुक्त प्रयासको आह्वान गर्नुभएको छ ।
उदघाटन सम्बोधनमा राष्ट्रपति सीले सम्मेलनमा सहभागी अतिथिहरुलाई हार्दिक स्वागत गर्दै उक्त आह्वान गर्नुभएको हो । उहाँले एससीओले नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको उदाहरण प्रस्तुत गरेको जनाउँदै चीनले संगठनको यस पटकको अध्यक्षताका क्रममा पाएको समर्थनप्रति सबैमा आभार प्रकट गर्नुभएको छ ।

राष्ट्रपति सीको सम्बोधनको संक्षिप्त विवरणमा भनिएको छ :
‘मान्यवर सहकर्मीहरू, सांघाई सहयोग संगठनको २५औँ शिखर सम्मेलनमा तपाईंहरूलाई स्वागत गर्दछु । शताब्दीको मोडमा सांघाईको हुआङपू नदीदेखि आजको थिएन्चिनको हाईहे नदीसम्म, एससीओले असाधारण यात्रा तय गरेको छ । यसले क्षेत्रीय सुरक्षा कायम राख्दै साझा विकासको प्रवद्र्धन र जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिएको छ। यसले नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको नमूना प्रस्तुत गरेको छ ।
पालैपालो अध्यक्षता ग्रहण गर्ने क्रममा चीनले यो जिम्मेवारी सम्हालेपछि हामीलाई सबै सहकर्मीहरूको माया र समर्थन प्राप्त भएको छ । सदस्य राष्ट्रहरूले अस्तानामा सम्पन्न शिखर बैठकमा भएको महत्वपूर्ण सहमति कार्यान्वयन गर्न चीनले आयोजना गरेका गतिविधिहरुमा सक्रिय सहभागिता जनाएका छन् । एससीओको राजनीतिक, सुरक्षा, आर्थिक, व्यापारिक तथा जनस्तरबीचका क्षेत्रमा सहयोग अझै गहिरो र सुदृढ भएको छ र फलदायी परिणाम प्राप्त भएका छन् । म यस अवसरमा सबै सहकर्मीप्रति आभार व्यक्त गर्न चाहन्छु ।
उच्च गुणस्तरको विकास र उच्च स्तरको सहकार्यलाई अघि बढाउन चीन सबै पक्षसँग मिलेर काम गर्न इच्छुक छ । हाल विश्वमा परिवर्तन र अशान्ति एकसाथ देखिएका छन् । सबै सदस्य राष्ट्रहरूले सुरक्षा तथा विकासका अझ कठिन चुनौतीको सामना गरिरहेका छन्। चीन सबै पक्षसँग मिलेर यस बैठकलाई अनुभवको मूल्याङ्कन र नयाँ खाका कोर्ने अवसरका रूपमा लिन इच्छुक छ । यसबाट एससीओलाई उच्च गुणस्तरको विकास र उच्चस्तरको सहकार्यतर्फ लैजान सकिन्छ । साथै साझा भविष्यसहितको अझ घनिष्ठ एससीओ समुदाय निर्माण गर्न सकिन्छ ।
सन् २००१ को जुनमा सांघाईमा स्थापना गरिएको एससीओका छ संस्थापक सदस्यको संख्या बढेर हाल १० सदस्य, २ पर्यवेक्षक र १४ डाइलग पार्टनर राष्ट्र बनेका छन् । यसको विस्तार एसिया, युरोप र अफ्रिकासम्म फैलिएको छ । अहिले यसको परिवाररुपी संगठनमा २६ मुलुक आवद्ध छन् ।
स्रोत : सिसिटिभी प्लस ।
टिप्पणीहरू