लाजेहाङको टाउकोमा लाठी हान्यो कसले ?

लाजेहाङको टाउकोमा लाठी हान्यो कसले ?

चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा भएको पहिचानवादी आन्दोलनमा सहभागी हुँदा घाइते भई धरानमा पाँच दिनपछि बितेका पदम लिम्बू लाजेहाङलाई टाउकोमा लाठी हान्ने व्यक्ति को थियो भनेर खोजी हुन थालेको छ । 

पहिले मोरङको बेलबारी र हाल सुनसरीको धरान उपमहानगरपालिका–१८ घर भएका लिम्बुवान भोलेन्टियर लाजेहाङ चैत ५ गते विराटनगरमा प्रहरीसँग झडप हुँदा टाउकोमा लाठी लागेर घाइते भएका थिए । लाठी प्रहार भएपछि लाजेहाङ प्रदर्शनकारीलाई शान्त बनाउन छाडेर भीडबाट टाउको छाम्दै बाहिर निस्किएका थिए । 

निषेधाज्ञा तोड्ने क्रममा झडप हुँदा ४ जना प्रदर्शनकारी घाइते भएको भनियो । तर, लाजेहाङको नाम थिएन । एक्कासी चैत ८ गते बिपी स्वास्थ्य प्रतिष्ठानमा भर्ना भएका उनको टाउकोको अघिल्तिर चोट देखिएको थियो । २ दिनपछि उपचारकै क्रममा मृत्यु भएको हो । 

यता, चैत ५ गते लाजेहाङलाई प्रहरीले हानेको नभै प्रदर्शनकारीकै तर्फबाट प्रहरीलाई प्रहार गरेको लाठी टाउकोमा लाग्दा घाइते भएको मोरङ प्रहरीको दाबी छ । एसपी दीपक पोखरेलका अनुसार प्रदर्शनको प्राप्त भिडियो सूक्ष्म अध्ययन गर्दा प्रहरीको अगाडि अभिएर भीडलाई शान्त बनाउन लागिपरिरहेका लाजेहाङलाई प्रदर्शनकारीबाटै हानिएको लाठी लागेको प्रष्ट देखिएको छ । उक्त लाठी हान्ने व्यक्ति पनि पहिचान भैसकेको प्रहरीको दाबी छ ।

लाजेहाङलाई कसले लाठी हानेको थियो भन्ने प्रचण्ड सरकारद्वारा गठित छानबिन समितिले पत्ता लगाएर पक्कै प्रतिवेदन देला नै तर चैत १० गते मृत्यु भएका उनको शव अझै दाहसंस्कार हुन पाएको छैन । सरकारले शहीद घोषणा नगरेसम्म शव नबुझ्ने अडान लिएकाले शव प्रतिष्ठानकै शवगृहमा सडिरहेको छ । जाहेरी अभावमा प्रहरीले शव पोष्टमार्टमा पनि गर्न पाएको छैन । 
 

टिप्पणीहरू