एमसिसीविरुद्ध ‘बम’ राख्ने युगान्तलाई सफाइ

एमसिसीविरुद्ध ‘बम’ राख्ने युगान्तलाई सफाइ

नो एमसीसी लेखेर सडकमा नक्कली बम राख्ने काभ्रे महाभारतका युगान्त अब खुला भएका छन् । २०७८ फागुन १६ गते नेपाल बन्दको आह्वानसहित नो एमसीसीका नाममा बनेपामा शंकास्पद वस्तु राखेबापत पक्राउ परेका विप्लवका कार्यकर्ताले जिल्ला अदालतबाट प्रमाण नपुगेको भनी सफाइ पाएका हुन् । 

काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको थियो । ‘नो एमसिसी, खतरा’ लेखेर बाल्टिनलाई रातो झोलाभित्र बेरी सडकमा राखिएको उक्त वस्तुलाई कालीजंग गण धुलिखेलबाट खटेको सहसेनानी अजय परियारको टोलीले निष्क्रिय पारेको थियो । सडकमा शंकास्पद वस्तु राखेको आरोपमा विप्लव नेतृत्वको नेकपासँग आबद्ध महाभारत गाउँपालिका ६ का युगान्त थिङ पक्राउ परेका थिए । अघिल्लो दिन नेपाल बन्दको आह्वान गरेकाले बिहानै सवारीसाधन कम चलेका र बिपी राजमार्गको ठकुरीछाप र अरनिको राजमार्गको बनेपा पुलबजारमा ‘नो एमसिसी’ लेखिएको शंकास्पद वस्तु राखिएको थियो । गगन थाापासमेत छिमेकीसँग माग्ने हो भनेर चम्किरहेका थिए । त्यही बेला माओवादीसँग अलग्गिएको विप्लव र त्यस्तै साना दलले एमसीसीविरुद्ध आयोजना गरिएको नेपाल बन्दमा सर्वसाधारणलाई त्रसित बनाउन, सवारी साधन चल्न नदिन कुकरमा नो एमसीसी लेखेर राजमार्गमा राखेका थिए ।

कुनै समय माओवादीपछि विप्लवका कार्यकर्ता भन्नेबित्तिकै उद्योगी, व्यवसायी, जनप्रतिनिधि र सामाजिक कार्यकर्ता चन्दा आतंकबाट त्रसित हुन्थे । एनसेलको टावर आक्रमण, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाको क्रसरमा आगजनीजस्ता घटनामा संलग्न विप्लव समूहका नेता–कार्यकर्ताको खोजीमा प्रहरी सक्रिय थियो । त्यही क्रममा दर्ता गरिएका मुद्दा अदालतमा विचाराधीन छन् । जनतासँग उठाएको चन्दा आजकाल विप्लवका कार्यकर्ताले अदालतमा धमाधम धरौटीका रूपमा राख्न थालेका छन् । सरकार र विप्लव समूहबीच भएको वार्ताबाट मुद्दा फिर्ता लिने, जेलमा भएका नेता–कार्यकर्तालाई रिहा गर्ने भनिए पनि त्यसो हुन सकेको छैन । तर, अहिले विध्वंश मच्चिएको छैन । विप्लवका कार्यकर्ता खुलेआम सामान्य जीवन जिउन थालेका छन् । धार नभएको हतियारजस्तो भुत्ते बनेर सडक–सडक हिँडिरहेका कार्यकर्तामाथि लागेको मुद्दाका विषयमा पार्टी नेता मौन छन् । बरु कार्यकर्ता स्वयंले अदालतको आदेश स्विकार्दै हाजिर हुन थालेका छन् । यही क्रममा एक साताको अवधिमा जिल्ला अदालतको म्याद जारी भएपछि ५ जना हाजिर भएका हुन् । उनीहरू सबैले दश–दश हजार धरौटी बुझाएका छन् ।

‘जिल्ला अदालत काभ्रेपलाञ्चोकले हाजिर हुन आउन जारी गरेको म्याद अवधिभित्र यादव र ढुंगेल, सुवास देवजू, चमार सिंह तामाङ, शंकरप्रसाद नेपाल र डिल्लीप्रसाद दुलाललाई धरौटीमा छाड्ने आदेश भएको छ’–अदालतका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले भन्नुभयो–‘ढुङ्गेल र देवजू फागुन ३० गते हाजिर भएका थिए भने तामाङ, नेपाल र दुलाल फागुन २९ गते हाजिर भएका थिए ।’ जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले हाजिर हुन आएका सबैलाई १०÷१० हजार धरौटी तारेखमा छाड्न आदेश दिएको हो । यो अदालतको नियमित प्रकृया भएको श्रेस्तेदार घिमिरेले बताउनुभयो । 

मुलुकी अपराध संहिता, २०७४ को दफा १५०(१) बमोजिमको कसुर अपराधमा एनसेलको टावर र जेनेरेटरमा आगजनी गर्ने कार्यमा संलग्न भएको अभियोगमा सार्वजनिक भौतिक संरचनाको विनाश मुद्दामा मण्डनदेउपुर ३ का चमार सिं लामा, धुलिखेल ९ का कान्छा लामा, चौरीदेउराली ६ का डिल्लीप्रसाद दुलाल, पनौती ४ का हुद्दबहादुर वाईवा, मण्डनदेउपुर १० का शंकरप्रसाद नेपाल, धुलिखेल ६ का सुवास देवजु, मण्डनदेउपुर १० का भोलाप्रसाद नेपाल, चौरीदेउरली ३ का यादव ढुंगेल, पनौती ४ का सुन्दर रायमाझी, पनौती ४ का अनिल रायमाझीलाई म्याद जारी गरिएको थियो भने विष्फोटक पदार्थ मुद्दामा रामेछाप उमाकुण्ड ६ का शरद रसाईली, चौरीदेउरली ५ का लेखराज गजमेर, मण्डनदेउपुर २ का कान्छा लामा, खानीखोला ५ का रेशम नेपाली, खानीखोला ५ का प्रताप तामाङ गोलेलाई म्याद जारी गरिएको छ ।

हाजिर हुन आएका मध्ये ५ जना नै भौतिक संरचना विनाश मुद्दाका अभियुक्त हुन् । सरकारसँग सम्झौता भएको दुई वर्षपछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई हाजिर हुन आउन गोरखापत्र दैनिकमार्फत २०७९ फागुन १ गते बुधबार म्याद जारी गरेको थियो । मुद्दा दर्ता भएकामध्ये अधिकांश ब्यक्ति विप्लव समूहमा छैनन् । म्याद बेपत्ते तामेल भई आएकाले अदालतको आदेशअनुसार प्रतिवादीका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ (१३) बमोजिम अभियुक्तलाई हाजिर हुन आउन सूचना प्रकाशन भएको हो । अदालत उपस्थित नभई म्याद गुजारी बसेमा पछि कुनै उजुरबाजुर नलाग्ने सूचनामा उल्लेख गरिएको थियो । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू