क्रान्तिकारीमा मिसियो बहुमत

क्रान्तिकारीमा मिसियो बहुमत

माओवादी विचारधाराका दुई पार्टीबीच एकीकरण भएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा (बहुमत) बीच आज एकता भएको हो । घट्टेकुलोस्थित इच्छुक प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी पार्टी एकीकरण घोषणा गरिएको बताइएको छ । वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरण भएको जानकारी दिएका छन् । 

विज्ञप्तिमा मालेमावादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आमकार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम, क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको संगठन सञ्चालन पद्धति, संसदीय व्यवस्थाको अन्त्य, पूँजीवादी अधिनायकत्वका विरुद्ध सर्वहारा अधिनायकत्व, आत्मनिर्णयको अधिकारसहित उत्पीडित राष्ट्रियता तथा क्षेत्रको स्वशासन, जनयुद्धको ऐतिहासिक भूमिका र सांस्कृतिक क्रान्तिलाई पार्टी एकताको आधार मानिएको बताइएको छ ।  

आगामी मजदुर दिवसका दिन जनसभासहित पार्टी एकता घोषणासभा गर्ने जनाइएको छ । विज्ञप्तिमा अन्य क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरुलाई एकताको प्रक्रियामा सामेल हुन आह्वान गरिएको छ । 

प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएसँगै पार्टीको कार्यदिशासँग असहमत रहँदै आएका बैद्य ठूलो समूहसहित त्यतिबेलाको एकीकृत माओवादीबाट बाहिरिएपछि माओवादीमा विभाजनको शुरुआत भएको थियो । टुटफुट र विभाजनसँगै एकताको अनेक शृंखला पार गर्दै आएका माओवादीहरु अहिले झण्डै आधा दर्जनको संख्यामा छन् । 

वैद्यले प्रचण्डसँग विद्रोह गरी आफ्नै नेतृत्वमा गठन गरेको नेकपा–माओवादीमा हाल माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, देव गुरुङ, एमालेमा मिसिएका रामबहादुर थापालगायत प्रभावशाली नेताहरु पनि थिए । तर, सो उक्त पार्टीमा पनि पुनः विभाजन हुँदा नेत्रविक्रम चन्द विप्लवले छुट्टै दल बनाएका थिए । 

गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विवादले विप्लव नेतृत्वको नेकपा पनि विभाजित भयो । चुनावको विपक्षमा रहेका बास्तोलाले विप्लवबाट छुट्टिएर नेकपा बहुमत गठन गरेका थिए ।

टिप्पणीहरू