मृतकको बीमा रकम ‘पच’ गराउने छ जना सार्वजनिक

प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा उतै निधन भएका तथा मुलुकमा आउँदा यता बितेका नेपालीले प्राप्त गर्ने बिमा रकम ठगी गरेको आरोपमा पक्राउ गरेका छ जनालाई आज सार्वजनिक गरेको छ । 

ती ठगले त्यस्ता मृतक नेपालीले बिमावापत प्राप्त गर्ने रकम उनीहरुका आफन्तलाई केही दिएर ठूलो रकम गिरोहले बुझ्ने गरेको पाइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको छ ।

यसरी रकम बेपत्ता पार्ने गिरोहका छ जनामा सर्लाहीका ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान, ३९ वर्षे रुद्रमान गोले र ३५ वर्षीय प्रकाशबहादुर गोले हुन् । यस्तै काभ्रेका ४१ वर्षीय रामबहादुर तामाङ पनि पक्राउ परेका छन् ।

ठगहरुले मृतकको शव आइसकेपछि तिनका परिवारलाई राजधानीमा बोलाएर कोठामा थुन्दै मोटो रकम ठगेको पाइएको हो । पक्राउ परेकाहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

टिप्पणीहरू