नक्कली शरणार्थी बनाई अमेरिका पुर्याउने नाममा डेढ करोड असुल्ने एमाले नेतामाथि कारवाही गर्न समाजवादीको माग

नक्कली शरणार्थी बनाई अमेरिका पुर्याउने नाममा डेढ करोड असुल्ने एमाले नेतामाथि कारवाही गर्न समाजवादीको माग

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य आलोक रायमाझीले नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पुर्याउने भनी ठगि धन्दामा नाम जोडिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गर्नुपर्ने बताएका छन् । 

रायमाझीलाई तुरुन्त पदबाट निलम्बन गरि उनका छोरा सन्दिपमाथि सत्यतथ्य छानविन गर्न उनले माग गरेका हुन् । सांसदजस्तो गरिमामय पदमा रहेको व्यक्तिको परिवारका सदस्य यस्तो घृणित कार्यमा संलग्न रहेको विषय आफैँमा लज्जासपद रहेको भन्दै उनले अबिलम्ब कानुनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । 

'पूँजीवादी उपभोक्तावादी संस्कृतिको कुप्रभावको एउटा नमुना, यो प्रकरणमा जोडिएका अर्थवादी, ठगवादी र घुसवादीहरु र तीमध्य एक सम्मानित संसद्को सदस्य हुनु आफैंमा लज्जास्पद विषय हो', आलोकले भनेका छन्, 'त्यसैले  यो प्रकरणमा जोडिएकाहरुलाई सत्य तथ्य छानबिन गरि कारबाही गर्नको निम्ति ती सांसदलाई उक्त पदबाट तुरुन्तै निलम्बन हुनुपर्छ भन्ने मेरो साथै सम्पूर्ण न्यायप्रेमी नेपालीहरुको जोडदार माग रहेको छ । किनकि त्यो पदमा बसिरहदा यो घटनालाई  कमजोर बनाउन मद्दत पुग्ने सम्भावना रहन्छ ।'

उनले पीडितलाई न्याय र दोषीलाई कानुनी कठघरामा उभ्याउनका लागि सामूहिक दवाब सृजना गर्न  स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आह्वानसमेत गरेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक साँठगाँठ रहेको र त्यसमा रायमाझीको संलग्नता देखिएको भन्दै कान्तिपुरले समाचार प्रकाशन गरेपछि यो तथ्य सार्वजनिक भएको हो । त्यसप्रति यतिबेला चौतर्फी आक्रोश छ । 

समाजवादीका नेता आलोकले भनेका छन्, '८७५ जना सोझा नेपाली युवाहरूलाई ठगी गर्ने  गिरोहले अर्वौ रुपैया ठगेको कुरा साच्चै लाजमर्दो र दु:खद छ ! साथै यो घटनाले राज्यको भूमिकामा समेत प्रश्न चिन्ह खडा भएको छ । यो ठूलो ठगी प्रकरणमा गरिमामय संसदका बहालवाला सदस्य (टोपबहादुर रायमाझी) समेत जोडिएको कुरा आमसञ्चार माध्यममा तथ्यसहित आएको छ ! यो घिन लाग्दो आपराधिक घटनाले  नेपाली जनता मर्माहत र आक्रोशित भएका छन् ।'

 

टिप्पणीहरू