त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो उपप्रधान तथा गृहमन्त्री

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभयो उपप्रधान तथा गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ निरीक्षण तथा सरोकारवाला निकायहरुसँग छलफल गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । उहाँ अध्यागमन कार्यालयको निरीक्षण गर्न त्यहाँ जानुभएको बताइएको छ ।

पाँच जनाको टोलीसहित उपप्रधानमन्त्री ११ बजे विमानस्थल पुग्नुभएको हो । हरेक पटक नयाँ मन्त्री आएपछि अनुगमनका नाममा ‘हल्लाखल्ला’ हुने र निर्देशन दिने विगतदेखिकै अभ्यास रहँदै आएको छ । उहाँको आजको विमानस्थल अनुगमन पनि त्यस्तै कर्मकाण्डमै सीमित रहला कि समस्या समाधानका लागि परिणाममुखी पहलकदमी होला ? 

नेपालको विमानस्थल मानव तस्करीको जालोमा परेको पटक–पटकका घटनाले देखाइसकेको छ । त्यसमा अध्यागमनको भूमिका जोडिने गरेको छ । त्यसमा संलग्न के–कति अधिकृतमाथि छानबिन भएको छ ? भन्ने विषय मन्त्रीको आजको अनुगमनमा उठछ कि उठ्दैन ? त्यस्तै,मानव तस्करबाट हुने उच्चस्तरीय सेटिङ के हुन्छ ?

अध्यागमन कार्यालयको ईमिग्रेसन डेस्कमा अध्यागमन अधिकृत र यात्रु देखिने गरी सिसिटिभी राख्न खोज्दा विभिन्न कारण देखाएर पन्छाउने गरिएको गुनासो छ । यसमा कुन–कुन स्वार्थ समूहले टाङ्ग अड्काएको हो ? मन्त्रीले सोधखोज गरेर आवश्यक कदम चाल्नुपर्ने आवाज पनि उठेको छ । 

अध्यागमन विभागको कम्प्युटर सर्भरमा पटक–पटक हुने साइबर आक्रमण र साइबर सुरक्षा तथा वैकल्पिक सर्भरको विषय पनि चर्को हुँदै आएको छ ।
 

टिप्पणीहरू