धनगढीमाई नगरपालिकामा जनमत पार्टीको ताल्चा

धनगढीमाई नगरपालिकामा जनमत पार्टीको ताल्चा

सिरहाको धनगढीमाई नगरपालिकामा जनमतका स्थानीय नेता तथा कार्यकताले ताल्चा लगाएका छन् । नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स चालकको बेवास्ताका कारण बिरामी महिलाको निधन भएको आरोप लगाउँदै उनीहरुले  ताला लगाएको बताइएको छ । 

फोन गरेर बोलाएको अढाई घण्टा बित्दासमेत एम्बुलेन्स नआएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । वडा नम्बर १ का श्रीदेव साहकी पत्नी उषादेदी साहको लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । फोन गरेर बोलाउँदा एम्बुलेन्स चालकले १५ मिनेटमा भनेर घण्टौं कुराएको उनीहरुको आरोप छ ।

‘पटक पटक फोन गर्दा पनि घण्टौंसम्म नआएपछि बिरामीलाई अर्को एम्बुलेन्समा लैजाँदा बाटोमै मृत्यु भयो,’ मृतकका आफन्तले भने । एम्बुलेन्स चालकको बेवास्ताले उपचार ढिलो हुँदा घाइते महिलाको मृत्यु हुन पुगेको भन्दै जनमतका कार्यकर्ताले नगरपालिकामा हिजोदेखि ताला लगाएका हुन् । 

मृतकका परिवारलाई न्यायिक क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै प्रल्हाद साहको संयोजकत्वमा १६ सदस्यीय आन्दोलन समितिसमेत गठन गरिएको छ । नगरपालिकाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

टिप्पणीहरू