श्रीमानको सेवा

श्रीमानको सेवा

‘रमेशले कत्ति नराम्री स्वास्नी बिहे गरेको है । जसले जे भने पनि स्वास्नी त लोग्नेभन्दा राम्रै हुनुपर्छ ।’
विवाह भएको १० वर्षपछि लोग्नेका साथीहरुले आफ्नाबारेमा गरेका टिप्पणीहरु बारम्बार सुन्छे । तै पनि ऊ कहिल्यै पनि दुःखी भएकी छैन । अनि साँझ घर पुगेर ऊ ऐना हेरेर रोएकी पनि छैन । किनकी रेश्मालाई १० वर्ष अघि नै लागेको थियो कि ऊ भन्दा उसको लोग्ने रुपमा राम्रो छ । 

तर ऊ लोग्ने सँगै भएको बेला छोरालाई सोध्छे– छोरा बाबा राम्रो कि मामु । छोरा सधैं उही जवाफ दिन्छ पूर्ण आत्मविश्वासका साथ– बाबाभन्दा मामु नै राम्रो । बाबा छोराको मुखतिर पुलुक्क हेर्छन, सधैं जाँड खाएर ह्वास्सस गनाउने भएर आएको बाउलाई कुन चाहिं छोराले राम्रो भनोस । खै किन हो बच्चैदेखि छोराले रक्सी खाने मान्छे बाउ नै भए घृणा गर्छ । चोकमा बसेर फलानीका स्वास्नी नराम्री भन्नेहरु पनि फेसबुकमा दम्पतीको फोटो हाल्ने वित्तिकै कस्तो राम्रो जोडी, पर्फेक्ट कपल भने लभ साइन ठोक्दिन्छन् । कति सुहाएको भन्छन । यही भएर रेश्मा आजकल भन्ने गर्छे सबका सब मान्छे दुई जीब्रे छन्, कुकुर भुक्दै गर्छ हात्ती लम्कँदै गर्छ । 

उमेर ३० नकटे पनि रेश्माले जिन्दगीमा निकै हण्डर ठक्कर खाइसकेकी छ । पढ्ने  रहर हुँदाहुँदै पनि एसएससी पास गर्ने बित्तिकै बिहे गरी, परिबन्धमा परेर । माइती र हुनेवाला घरका दुबै विवाह पछि पढाउन सहमत भएकाले विवाह गर्न राजी भएकी हो ऊ । तर वातावरण भन्दै बनेन, बुहारी भएर सर्ट, पाइन्ट लगाएर क्याम्पस जाने हो भनेर सासु आमा जहिले पनि कचकच गर्थिन । घर नजिकै क्याम्पस भएकाले जसोतसो १२ कक्षा त पास गरिन । बीए पढ्न सदरमुकाम झर्ने निधो गरिन, सासू, ससुरा नमान्ने रेश्मालाई पहिल्यै थाहा थियो, जसोतसो लोग्नेलाई मनाई, सँधैं हल्लिएर हिंड्ने छोरोले सदरमुकाममा जागिर पायो भनेपछि बाआमा पनि खुसी भए । 

रेश्मासँग सम्पत्तिको नाममा केही महिना बोर्डिङ पढाएर बचत गरेको १० हजार रुपैयाँ र दुई महिनाको गर्भ थियो । सासू ससुरा बुहारीले पढ्नु पर्छ भन्ने कुराको घोर बिरोधी त्यहाँमाथि पनि गर्भवती छु भनेको भए त किन उम्किन पाउँथि र ऊ?सदरमुकाम झरेपछि हो रेश्माको कठिन संघर्ष शुरु भएको । आफू बाँच्नु पढ्नु र आफूभित्रको मान्छे हुर्काउनु । कम्तिको चुनौती थिएन । त्यही बेला सदरमुकामा भर्खर भर्खर रेडियो खुल्दै थियो । तालिम भयो, तालिममा सहभागी रेश्मा तालिमभरकै उत्कृष्ठ ठहरिएर कामकै लागि छानिइ । गजलसम्बन्धि राम्रै कार्यक्रम चलाइ, समाचार लेखन र वाचनमा पनि जमी । सबै ठीकठाक चल्दै थियो, छोरो जन्मियो । हेर्ने मान्छे कोही भएनन । दुई महिनापछि छोरो बोकेरै रेश्मा रेडियो गइ, केहीघण्टाभन्दा धेरै काम गर्न सकिन । 

छोरो छ महिना पुग्यो, डेरा र रेडियो नजिकै भएकाले सहज भयो । स्टेशन मेनेजर फेरियो । कहिलेकाहीं मेनेजरसँगै समाचार पढ्नु पथ्र्यो । स्टुडियोमा टेबुल एउटा मात्रै थियो, मेनेजर पेपर मिलाउने बाहनामा कुहिनोले रेश्माको संवेदनशील अंगमा छुन्थ्यो कहिलेकाहीं । त्यो दिन रेश्मा अन्तिम हेडलाइन पढ्दै थिइ, मेनेजरले तीघ्रामा दुख्ने गरि नै चिमोट्यो । समाचार सकियो, अनि जमाएर दिइ रेश्माले स्टेशन म्यानेजरको गालमा झापड, मेनेजर रन्थनियो । भोलिपल्ट कार्यालय जाँदा गार्डले भित्र छिर्नै दिएन, माथिको आदेश भनेर रेश्मालाई गेटबाटै फकाई दियो । रातारात रेडियोको अध्यक्ष र सचिवलाई बोलाएर, बर्खास्तगीको पत्र तयार पारिएको रहेछ । यत्तिसम्म कि रेडियोले सूचनै प्रसारण ग¥यो, रेश्मा रेडियोमा संलग्न नभएकाले रेडियोसँग सम्बन्धित कुनै पनि काम नगर्नुहोला । गर्भवती र सुत्केरी बेलामा गरेको गुनको बदलामा रेडियोले हुनसम्मको बद्नामी गरेकोले रेश्मा खुब रन्थनिइ । 

जागिर सकियो । कोठा भाडा, छोरोको स्याहार सुसार । बुढोलाईविदेश पठाउँदा लागेको ऋण यी सबै सोच्दा हैरान हुन्थी रेश्मा । अप्ठ्यारो पर्दा सम्झने सिर्जना दिदी कहाँ पुगि ।आफूमाथि घटेको सम्पूर्ण घटना सुनाइ, रेश्माको कार्यक्रम सुन्न बसेकी सिर्जनाले पनि रेडियोको सूचना सुनिसकेकी रहिछ । रेडियोको इतिबृतान्त सबै सुनाइ । हरेक संकटको मोचक सिर्जना दिदीले तत्काल समाधान निकालिन । नजिकै चलिरहेको होटल एण्ड लज बिक्रिमा रहेछ, लगानी सिर्जना दिदीको व्यवस्थापन रेश्माको । गजब्ब चल्यो होटल । सदरमुकाममा तहल्कै मच्चायो । पहिलो महिनै ३० हजार नाफा कमायो । केही महिनामा मासिक नाफा ६० हजार पुग्यो । रेश्माको महत्वकांक्षा पढ्दै गयो । होटलका लागि चाहिने सामान किन्न बजार जान स्कुटर किनि, सानका साथ बजार आउजाउ गर्न थालि । यसले नजिकका होटवालाहरुले रिस गर्न थाल्ने नै भइहाले । 

एक जोडी आए, कोठा बुक गराए । बेलुकाको खाना समेत अर्डर गरे । श्रीमान श्रीमती लेखाइसकेपछि धेरै सोधखोज पनि गरिन रेश्माले । दुई हजार धरौटी राखेका थिए । बेलुकाको खानासहित सबैको पाँच हजार भएको रहेछ । रेश्मा रात बस्ने ग्राहकको पनि बेलुकै हिसाब गर्थि । श्रीमान लेखाएर रात बस्ने केटो विहानै उठेर चिया अर्डर ग¥यो । अनि एकछिनमै फर्कन्छु भनेर निस्कियो मान्छे, ढिलोसम्म फर्किएन  । केटीचाहिँ काउण्टरमा आएर रुन थालि । काठमाडौंबाट घुम्न आएका रहेछन । नगरकोट भनेर चरिकोट आइपुगेको उसलाई पत्तै भएनछ । बेखर्ची भएको र केटोको फोन अफ भएको गुनासो गरि । त्यो केटी काठमाडौंको होटलमा काम गर्ने रहिछ, ग्राहक भनेर सधैं जाने केटोले घुमाउन ल्याएको  रहेछ । रेश्माको मन कमलो, आँसु देख्ने वित्तिकै पग्लियो, धेरै सोधखोज गरिन । आखिररेश्मालाई पनि एक जना सहयोगी चाहिने । काम गर्न राखि, नयाँ केटीलाई । केटीको नाम रेजिना रहेछ । रेश्मा र रेजिना दिदीबहिनी नै भए । सबैलाई चिनाउँदा रेश्मा रेजिनालाई कान्छी बहिनी भनेर चिनाउँथि । रेजिना थपिएपछि रेश्मालाई सबै काममा सजिलो भयो । व्यापार पनि बढ्न थाल्यो । 

रेश्माका दुई जना गाउँले देवर स्नातक पढ्न भनेर सदरमुकाम झरे, कोठाको बन्दोबस्त नहुँदासम्म होटलमै बस्ने भए । रेश्मा देवरहरुका लागि कोठा खोजि पनि रहेकी थिइ, होटलको कामले भ्याइ नभ्याइ थियो, तै पनि सोधखोज गर्थी चिनेजानेका लाई । रेजिना थिइ सबै हेर्ने, सिर्जना दिदीलाई हिसाब किताब हेर्न भनेर एक रातका लागि काठमाडौं, गइ । भोलिपल्ट फर्कदाँ, रेजिना र देवरहरुलाई प्रहरीले लगेको रहेछ । त्यत्तिखेरै रेश्मालाई लिन प्रहरी आयो । सामान्य सोधपुछ होला भन्ने लागेर गइ । प्रहरीको व्यवहार एकाएक फेरियो । न रेजिनालाई भेट्न दियो पुलिसले न त देवरहरुलाई नै । के का लागि उनीहरुलाई पक्रिएको र केको लागि आफूलाई बोलाएको भन्ने नै थाहा पाइन । 

गाइगुईँ धेरै कुरा सुनियो । स्टुडियोमा चड्कन खाने मेनेजरलाई पनि प्रहरी कार्यालयमै देखी । ठूलै षडयन्त्र भएको बुझ्न कठिन भएन, रेश्मालाई । मानवबेचविखन, ओसारपसार र जवरजस्तीकरणी मुद्दालगाउने चालबाजी भइसकेको रहेछ । त्यो रात प्रहरी चौकीमै बास भयो, भोलिपल्ट अदालत लगियो म्याद थपका लागि । अनुसन्धान सकिएन भन्दै म्याद थप भइरह्यो । प्रहरी भित्र पनि रेश्मालाई फसाइएको भनेर बुझ्नेहरु थिए, उनीहरुकै सहयोगमा धेरै कुरा मिलाउन सहज भयो उसलाई हिरासत भित्र । होटलको हिसाब किताब, जनसम्पर्क सबै मिलाउन पाइ । तीन हप्ता तीन दिन पछि डेढ लाख धरौटीमा रिहा भइ रेश्मा । 
 

भएभरको पैसा सकियो, हुनु नहुनु बद्नाम पनि भयो । जिल्लाका पत्रिकादेखि लिएर रेडियोसम्म  उसकाविरुद्ध एकोहोरो प्रचारमा लागे । रेश्माको गल्ती छैन, भनेर बुझ्ने पनि को भए र ? उसले म निर्र्दोष छु भनेर चोक, चौतारोमा उभिएर जति रोइकराइ गरे पनि सुन्ने को हुन्थ्यो र ?भोलिपल्ट विहानै काठमाडौं हानिइ, कता जाने के गर्ने कुनै टुङ्गो थिएन ।जिल्लाकै ठेकेदारको शरणमा पुगी आएको भोलिपल्टै । शुरुवा ठेकेदारले लेवर काम गर्छु भन्दा के पत्याउँथे, आखिर पत्याए । गिट्टी, बालुवा बोक्न थाली, दिनको सात देखि नौ सयसम्म कमाउँथी । 

काठमाडौं बसे पनि तारिखका लागि अदालत जानै पथ्र्यो, पेशी चढ्दै, रोकिदै आएको पनि धेरै भएको थियो । फैसला हुनु भन्दा एक हप्ता अघिदेखि नै रेश्मा जिल्ला सदरमुकाम गएर बसेकी थिइ । धेरै अघिदेखि न्यायाधीशको एउटा शर्त थियो, एउटा प्रस्ताव थियो ।अनि  धम्की पनि सुरुक्क प्रस्ताव मानेर निर्दोष हुने कि, जेलमा सड्ने । न्यायाधीसले एउटा कागज देखाए, जहाँ रेश्मा निर्दोष रहेको फैसला थियो भने अर्कोमा जेल सजाय लेखिएको । मर्नु भन्दा बहुलाउनु निको भन्छन नि रेश्माले पनि जुक्ति लगाइ । न्यायाधीशलाई मनाउन सफल भइ, आफूभन्दा निकै राम्री साथी मिलाइ दिने भनेर । खर्चमाथि खर्चै त हो नि । ऋणमाथि फेरि अलिकति ऋण थपियो । 

काठमाडौंबाट  ‘सार्थी’ मगाइ एक रातको पाँच हजार र आतेजाते भाडा दिनेसहित । न्यायाधीशको सरकारी निवासमा ‘साथी’लाई राति छाडेर फर्किइ । भोलि विहान उज्यालो नहुँदै ‘साथी’लाई काठमाडौं फर्काउनु थियो । न्यायाधीशको सरकारी निवासदेखि बसपार्कसम्म रेश्मा र ‘साथी’बीच कुराकानी भयो । ‘साथी’बोलिरहि रेश्मा सुनिरहिन–‘राति एकैछिनमा काम सकियो । न्यायाधीशको रहर मात्रै रहेछ, निकै खुसी भए, विहान पनि कोसिस गर्दै  थिए, हतियारले काम नै गरेन, मेरो त काम हो गरें, तर बूढाले भयँकर गल्ती गरे रेश्मा, फैसला आएपछि मात्रै म तिमीसँग पैसा लिन्छु ।’त्यो दिन पनि निर्णय नआउने हो कि भन्ने थियो, तर निकै ढिलो गरी आयो । जीन्दगीमा रेश्मा यत्तिधेरै खुसी भइकी उसले व्यक्त गर्ने शब्दनै भेटिन । अदालतबाट बाहिर निस्कने वित्तिकै ‘साथी’लाई फोन लगाइ तर सम्पर्क हुन सकेन, त्यो रात सानले निदाई । 

मानवबेचविखन, ओसारपसार तथा जवरजस्तीकरणीसम्बन्धि मुद्दालाई जिल्ला अदालतको फैसलाले मात्र नहुने  रहेछ । माथिल्लो अदालतबाट पनि ‘क्लिन चिट’ पाउनु पर्ने रहेछ । छिटो फैसला माथिल्लो अदालत पठाउन न्यायाधीशलाई नै आग्रह गरी । साँच्चै न्यायाधीश ‘साथी’को सेवाबाट निकै प्रफुल्ल भएका रहेछन । आफैंले काम गरेर फैसला माथिल्लो अदालत पठाए । फेरि काठमाडौंमा वकिल खोज, अदालत धाउ हैरान । यहाँ पनि उही हालत पेशी चढ्छ, सुनुवाइ सर्छ, भइरह्यो । ६ महिना पछि जिल्लाको फैसला नै सदर भयो । तत्कालै रेश्माले फेसबुकमा स्टाटस पोष्ट गरी –‘नखाएको विष लाग्दैन भन्ने प्रमाणित गर्न निकै संघर्ष गर्नु प¥यो, आज बल्ल बल्ल सफल भएँ, यो अवधिमा साथ दिने सबैलाई धन्यवाद विशेष अभार ‘साथी’ ।’

संयोग पनि कस्तो गजब्ब पहिलो कमेन्टको रुपमा त्यही ‘साथी’ले लभ रियाक्ट गरी । तत्कालै ‘साथी’लाई फोन गरेर भेट्न बोलाइ । थप दुई हजार ऋण थपी दुबै मिलेर खाजा खाए । ‘साथी’ले सेवा शुल्क पाँच हजार मिनाह गरी रेश्मालाई मुद्दा जितेकोमा खुसी व्यक्त गरी । अनि आँखाभरी आँसु पार्दै भनि–‘तिमीले मुद्दा जित्दा निकै खुसी छु, तर ती न्यायाधीश बूढाले त जीन्दगी नै हारे, बुबा गुमाउनुको पीडा मलाई जति कसलाई थाहा होला र ? बुबा नभएकै कारण म यो नरकीय पेशामा छु, मैले बोकेर गएको सामान लगाउन धेरैपटक आग्रह गर्दा पनि ती बूढाले मानेनन, स्थायी गरिसकेका मान्छेलाई के को डर भनेर जिद्दी गरे, रेश्मा ।’
अझै रेश्माले कुरो बुझिन । 

‘साथी’ नै बोलिन– ‘म त केही दिनको पाहुना हुँ, यो पृथ्वीको, ती बूढा पनि मेरो साथ नै जाने भए, एचआइभी टेष्ट गराउनु भन है ती बूढालाई ।’रेश्माले ‘साथी’ को मुखमा एकटकले हेरिरही । केहीबेरमै ‘साथी’ अलप भइ । विगत केही पनि नभन्ने शर्तमा नाम समेत नभनी साथी भएकी एक ‘साथी’ एकै बसाइमा केही शब्दमै पुरै इतिहास पढाएर गइ । रेश्माले सम्झिन भन्दा भन्दै पनि प्रहरी हिरासत, न्यायाधीशको शर्त (प्रस्ताव), फैसला । ‘साथी’सँगको अन्तिम भेट आँखै वरिपरी घुमिरह्यो । अनि न्यायाधीशलाई एचआइभी टेष्ट गर्न भनिदिनु भन्ने वाक्यांश भित्री मनमै गडिरह्यो । 

टिप्पणीहरू