सिंहदरबारलाई अब अन्तिम सलाम

सिंहदरबारलाई अब अन्तिम सलाम

न बस्नलाई कुर्सी, न कुनै जिम्मेवारी ! एक महिना होइन चार महिनासम्म ‘पेण्डुलम’ बनाएर थन्क्याइयो । यो दिक्दारीबीच अनिवार्य अवकाशको वर्ष दिनअगाडि नै राजीनामा ठोके । सात दिनअगाडि दिएको राजीनामा स्वीकृत भयो १६ गते ।

मन्त्रालयका सिनियर कर्मचारी, सहसचिवसम्मले भन्थे, दशैंसम्म कुर्नु । अहिले लियाजो अफिसर छनोट गर्ने काम धमाधम चलिरहेको छ । त्यो लिष्टमा तपाईंलाई जसरी पनि पारौँला । अढाई / तीन लाख ह्वाइट मनी आउँछ, दुई महिना कुर्नु भन्ने सहकर्मीदेखि सहसचिवसम्मको प्रयासले पनि रोकिन मन लागेन ।

सहसचिवले भन्नुभएको थियो, ‘कम्तीमा दशैं खर्च खाएर त जानुहोस्’ पर्यटन मन्त्रालय कर्मचारीका लागि यस कारण आकर्षक छ कि, लियाजो अफिसर बन्न तँछाडमछाड गर्छन्, एक पटक हिमाल चढ्न जाँदा घटीमा दुईदेखि तीन लाख सेतो धन लिन पाइन्छ तर पैसाको जात, कति भएर मान्छेलाई पुग्छ र मलाई त आफ्नै पसिनाको गन्ध र कमाइ मीठो लाग्छ । उक्त आश्वासनले सिंहदरबारभित्रै अड्याइरहन सकेन । ९ महिना प्रधानमन्त्री प्रचण्डको सचिवालयमा बसेँ । त्यहाँबाट सरुवा भएर गत वैशाखमा पर्यटन मन्त्रालय पुगेको थिएँ तर लामो समयसम्म केही जिम्मेवारी नपाइएपछि करिब ३८ वर्ष अर्थात् १३ हजार ७ सय ९१ दिनको निजामती सेवाबाट विश्राम लिएँ । 

सार्वजनिक सेवामा पाइला राखेको झण्डै चार दशकमध्ये जीवनका २७ वर्ष त स्थानीय तहमै रहेर बिताएँ । बाध्यताको माखेसाङ्लोमा परेर एक वर्ष सिंहदरबारमा सिफ्ट भएको थिएँ । सिंहदरबार त पहुँच हुनेहरूको थलो हो । मलाई भुइँमान्छेको सेवा गर्ने रहर छ । दैनिक ५३ किमि यात्रा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै पर्यटन मन्त्रालयमा खटाइएको थियो तर काम छैन, फुर्सद पनि छैन भनेझैंको जागिरमा अल्झिरहन मन लागेन र राजीनामा दिएर निस्किएँ । जागिरे जीवनका यी ३७ वर्ष भुइँमान्छेहरू अनि भूगोलसँग खुबै रमाएँ । काभ्रेपलाञ्चोकमा रहँदा कार्यक्षेत्रका सेवाग्राही, जनप्रतिनिधिहरूसँग सहकार्य गर्न जाने क्रममा धुलिखेल खावामा सडक दुर्घटनामा परेर कुम भाँचिएपछि नियतिले पुनः सिंहदरबार छिराएको थियो तर मजस्ता भुँइमान्छेहरू रमाउने ठाउँ होइन रहेछ सिंहदरबार ।

उसो त यसअघि नै वर्ष दिनअगाडि राजीनामा दिन खोजेको थिएँ तर साथीहरूकै सल्लाहअनुसार रोकिएको हुँ । यसपटक साथीहरूको सल्लाह पनि सुनिनँ । काभ्रेपलाञ्चोकमा नागरिकता शाखाको जिम्मेवारी सम्हाल्दै गर्दा ०७९ पुस ८ गते दुर्घटनामा परियो । देब्रे कुम भाँचियो । त्यसपछि मेरो सेवाप्रवाहमा अकल्पनीय ठेस लाग्यो । धुलिखेल अस्पतालमा उपचारपछि ६ हप्तासम्म सेवा प्रवाहमा प्रतिकूल असर पर्ने डाक्टरको कुराले मन अलि खिन्न भयो तथापि उपचार र आरामको विकल्प थिएन । दुर्घटनाको ७ दिनपछि गाडी रिजर्भ गरी फलो अपका लागि धुलिखेल अस्पताल र बिदाका लागि कार्यालय गएँ । कार्यालयमा हाकिमहरू भेटिएनन् । प्रशासन शाखाका साथीको सल्लाहअनुसार ६ दिनका लागि बिदा लेखेर आएँ ।

अत्यधिक दुखाइले दिनभर पर्खन सकिएन । पुनः अर्को हप्ता यही प्रक्रिया दोहोरियो । तर, बिदा स्वीकृत हुन सकेन । त्यसपछि मनमा एक खालको पीडा थपियो । यस्तो बेलामा पनि बिदा नपाउने जागिर किन खानुपर्यो ? त्यही समय जागिरबाट राजीनामा दिने सोच बनाएको थिएँ । ३७ वर्ष पुगेको घाटाको जागिर ! तलबभन्दा अरु अपेक्षा नराख्ने मैले के पाउनु छ र ? एउटा बिरामीले बिदा पाउँदैन भने किन जागिर खानु ? मन्त्रालयका केही साथीसँग सल्लाह गरेँ, जागिरबाट राजीनामा दिनेसम्बन्धमा । उहाँहरूको सल्लाह रह्यो– तत्काल राजीनामा नदिनु ।

उहाँहरूको आग्रहले अघिल्लो वर्ष रोकिएको थिएँ । त्यहाँबाट कम चाप नहुने ठाउँ राष्ट्रिय विपद प्राधिकरणमा सरुवा मिलाइदिनुभयो । दरबन्दी बढी भएका साथीहरूलाई थन्क्याउने ठाउँ बनेको रहेछ विपद प्राधिकरण । केही महिनापछि त्यहाँबाट गृहको विभूषण शाखामा सरुवा भएँ । त्यहीँ कार्यरत रहँदा वैशाख १ मा बाँकी रहेका विभूषण बाँड्ने काम गरियो । दुर्घटनापछिको शारीरिक पीडाले भन्दा पनि मप्रतिको अग्रजहरूको व्यवहारले गृह मन्त्रालय छाड्ने मुडमा पुगिसकेको थिएँ । निजामती वृत्तभित्र गर्नुपर्ने जिम्मेवारीका रूपमा कहीँ–कतै नलेखिएको तर गर्नै पर्ने चाकडी नगरेको, कतिपय विसंगति, विकृतिविरुद्ध बोलेको कारण कोपभाजनमा परेँ । त्यहाँबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटिएँ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयमा ९ महिना सेवा गरेपछि पर्यटनमा खटाइयो । त्यहाँ पनि कोपभाजनमा परेँ, म पसिनाको कमाइमा गर्व गर्ने मान्छे । जिम्मेवारी छैन, एक महिना, दुई महिना बित्यो जिम्मेवारी दिँदैनन् । अरु साथीलाई यसलाई पुरस्कार ठान्लान्, मेरा लागि यो कठिन दण्ड सावित भयो र राजीनामा दिएँ । उसो त मेरो रोजाइमा सिंहदरबार कहिल्यै परेन । जागिरे जीवनका २७ वर्ष स्थानीय निकायमा काम गरेर समायोजनपश्चात् सिंहदरबार पुर्‍याउँदा पनि त्यहाँ जान रुचि लागेन । बरु जिल्ला प्रशासन कार्यालय प्युठान, लमजुङ, धनकुटा, काभ्रेपलाञ्चोकलाई कर्मक्षेत्र बनाएँ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, आपूर्ति मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय प्युठान, जिल्ला प्रशासन कार्यालय लमजुङ, जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय काभ्रे, इलाका प्रशासन कार्यालय जस्पुर अनि पछिल्लो अवस्थामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सेवा गरेर यहीबाट राजीनामा दिएँ ।

भनिन्छ, उत्तम व्यापार, मध्यम कृषि, निर्घिणी नोकरी । नेवारको सन्तान, पिता पुर्खा, दाजुहरूले रोजेको उत्तम बाटो (व्यापार) छोडेर नोकरी रोज्न आइपुगेको हुँ । ६ जना दाजु आ–आफ्नो व्यापार व्यवसायमै रमाइरहेका छन्, म मात्र छु सरकारी सेवामा । ३७ वर्षअघि ०४३ साल मंसिरमा तत्कालीन गाउँ पञ्चायतको सचिव हुँदै निजामतीमा पाइला राखेको हुँ । त्यो बेला कार्यालय पुग्न घरबाट १६ घण्टा दूरी पार गर्नुपथ्र्याे । तत्कालीन गोकूले चाकल गाउँ पञ्चायतबाट २०४३ साल मंसिर ४ मा गाउँ पञ्चायत सचिवको जिम्मेवारीबाट शुरु गरे ।

गोकूले चाकल गाउँपञ्चायत, नयागाउँ गाउँपञ्चायत, उग्रचण्डी नाला गाउँपञ्चायत÷गाविस, सापिङ गाविस, ज्याम्दी मण्डन गाविस, अनैकोट गाविस, रविओपी गाविस, शारदाबतासे गाविसमा २७ वर्ष सेवाग्राही प्रत्यक्ष जोडिने स्थानीय तहमा बसेर सेवा दिएँ । गाविस सचिवले खर्च गर्न पाउने, सुविधा लिन पाउने चालू खर्चसमेत नलिएर/जोगाएर २०६९ सालमा हरेक खालका शारीरिक श्रमसमेत गरेर करिब २० लाख पर्ने गाविस भवन बनाइयो । ०६४ मा खरिदारबाट नासुमा उक्लिएँ । १३ वर्षपछि अर्थात् ०७७ सालमा शाखा अधिकृतमा बढुवा भएँ । सेवा प्रवेश गरेदेखि नै निजामती सेवा प्रभावकारी, जनमुखी, सेवाग्राही मैत्री, कानुनसम्मत, व्यावहारिक हुनुपर्छ भन्ने मान्यता बोकेर हिँडेँ र त्यसैलाई व्यवहारमा उतार्ने प्रयास पनि गरेँ ।

नागरिकले तिरेको करबाट तलब पाउनेमध्ये एक म । मैले पनि सेवाग्राही नागरिकको गाली, श्राप बोक्न नपरोस् भनेर आफूलाई क्रियाशील राख्न भरमग्दुर प्रयास गरेँ । गृह मन्त्रालयमातहत लामो समय काम गर्दा मन्त्रालयको शान रहने गरी जिम्मेवारी निर्वाह गरेँ । कुनै प्रकारको लोभलालच राखिनँ, अतिरिक्त सेवा–सुविधा लिइनँ । राज्यसँग कहिल्यै निजामती पुरस्कार, मान, पद्वी, अलंकार, विभूषण, वैदेशिक भ्रमण, तालिमको अपेक्षा गरिनँ । यी चिज कामका आधारमा कम र सोर्स फोर्स, चाकडी, चाप्लुसीको आधारमा बढी पाइन्छ । मैले कहिल्यै हाकिमको चाकडी गर्न जानिनँ । त्यही कारण जीवनको झण्डै चार दशक सेवा अवधिमा यी पुरस्कारका लागि लायक पनि ठहरिनँ । 

राज्यले खातामा जम्मा गरिदिने तलब भत्ताबाहेक यो अवधिमा पनि कुनै सेवाग्राहीसँग सेवा प्रवाहबापत एक कप चियासमेतको मागदाबी नगरी करिब आधा लाख सेवाग्राहीलाई सेवा प्रवाह गर्न सकेँ । यसैमा सन्तुष्ट छु । अधिकृतमा बढुवा हुँदा ब्याजी साथीहरूले सिंहदरबार रोज्नुभयो । म दूरदराज प्युठानतिर पुगेँ । उहाँहरूको राय, सुझाव थियो बुढेसकालमा जिल्ला गएर दुःख थप्ने काम नगर्नु तर म सिंहदरबार छाडेर अत्यधिक कामको चाप हुने जिल्ला प्रशासन कार्यालयमा काम गर्ने अनि पीडित भुइँमान्छेलाई विशेष सहयोग गर्ने सोचसाथ जिल्ला रोजेँ । कागजात पुगेका कुनै पनि सेवाग्राहीलाई आजै हुने कामका लागि भोलि आउनुहोस् भनिएन ।

अपांगता भएका सेवाग्राहीलाई बिदाका दिन पारेर उनीहरूको घर दैलोमा पुगी सेवा दिन पाउँदा बेग्लै आनन्द अनुभूति हुन्थ्यो । बेथिति र लापरबाही जिल्ला–जिल्लाका सरकारी कार्यालयमा मौजुद छन् । यस्ता बेथिति काभ्रेपलाञ्चोकमा अझ बढी छन् । यो बेथितिमा पनि थिति बसाल्न सक्दो प्रयत्न गरेँ । सेवाग्राहीलाई अल्मल्याउने, ढिलासुस्ती गर्ने काम कहिल्यै गरिएन । प्रायः जुन–जुन कार्यालयमा सरुवा भएर जान्थेँ नयाँ नागरिकताको जिम्मा मलाई नै बढी हुन्थ्यो । यसको अलावा प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, सवारी पास, बजार अनुगमन, नाबालक परिचयपत्रलगायतमा कामको चाप उत्तिकै आए पनि बिरामी भई थला नपरुञ्जेल काम गर्न गाह्रो भयो भन्न सिकिएन /सकिएन ।

गृह मन्त्रालयमा रहेपछि धेरैको अपेक्षा हुन्छ मान पदवीबाट विभूषित हुने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा हुने, वैदेशिक भ्रमण गर्ने, सकभर केन्द्रीय अड्डा सिंहदरबार नछाड्ने । तर, मैले दुई वटा विभूषण दावी गर्ने अवधिमा कुनै माग दाबी गरिन न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै सरुवा मागेँ । न वैदेशिक भ्रमणका लागि चाकडी गरियो । कहीँ–कतै पदीय हैसियत देखाएर एक कप चियासमेत सित्तैमा खाइएन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेर प्रधानमन्त्रीकै सचिवालयमा कार्यरत रहँदा धेरै लाभ लिन सकिन्थ्यो होला तर त्यस्ता रहर कहिल्यै ममा जागेन । यी केही तीता–मीठा अनुभव सँगाल्दै निजामती सेवामा ३८ वर्ष अर्थात् १३ हजार ७ सय ९१ दिन बिताएर स्वतन्त्र नागरिकका रूपमा जीवन निर्वाह गर्ने अवस्थामा पुगेको छु । सेवामा रहँदा कहिल्यै गलत काम गरिनँ । अवकाशपछि जहाँ पुगे पनि शिर ठाडो पारेर, छाती चौडा पारेर हिँड्न सक्छु ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू