रवि लामिछानेलाई बुझाउन मार्सीसँग पैसा माग्ने ढाकालाई रास्वपाको पूर्जी

रवि लामिछानेलाई बुझाउन मार्सीसँग पैसा माग्ने ढाकालाई रास्वपाको पूर्जी

घुस प्रकरणमा जोडिएका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

मेडिकल बिचौलिया दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई निलम्बन गर्दै स्पष्टीकरण बुझाउन भनेको हो । अडियोको वास्तविकताबारे सत्यतथ्य छानबिन गर्न केन्द्रीय अनुशासन तथा आचरण समितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । 

सार्वजनिक भएको अडियोका सन्दर्भमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको ढकालले बताएका छन् । यस सम्बन्धमा सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रिय समितिमा प्रतिवेदन पेश गर्न अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको उनले बताए । 

छानबिन सम्पन्न नहुँदासम्मका लागि सांसद र पार्टीको साधारण सदस्यको हैसियतमा कुनै काम नगर्न, नगराउन रास्वपाले श्रेष्ठलाई पनि निर्देशन दिएको छ । 

आफू स्वास्थ्यमन्त्री बन्न र सोही क्रममा पार्टी (सभापति रवि लामिछाने) लाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग पैसा मागेको अडियो आज बिहान सामाजिक सञ्जालमा भाइरल भएको छ ।

टिप्पणीहरू