अब रविको रोजाइ-प्रतिक्रिया दिएरै दिन बिताउने कि आफूलाई फरक देखाउने ?

अब रविको रोजाइ-प्रतिक्रिया दिएरै दिन बिताउने कि आफूलाई फरक देखाउने ?

स-साना घटनाले उद्वेलित भैहाल्ने नेपाली समाजको मनोविज्ञानलाई क्यास गरेर वैकल्पिक शक्तिको नाममा आमचुनावपछि जबर्जस्त उदायो,राष्ट्रिय स्वतन्त्र पार्टी । पार्टी गठनको चार महिनामै चुनावमा हेलिएको रास्वपा प्रतिनिधिसभामा २० सिट जितेर देशकै चौथो ठूलो पार्टी हो । निराशाको मतलाई ब्यालेट बक्समा संगठित गरेर बलियो शक्ति बनेको रास्वपा पछिल्ला दिनहरुमा शृंखलावध्द विवादमा परिरहेको छ । 

मूलधारका भनिने पार्टीहरुले जनताको अपेक्षाअनुसार आफूलाई प्रस्तुत गर्न नसकेका कारण उत्पन्न निराशालाई क्यास गरेर चुनावी सफलता हासिल गरे पनि पार्टीका रुपमा रास्वपा अझै स्थापित भैसकेको छैन । सरकारमा जाने, तत्कालै छोड्ने जस्तो कच्चा कदम होस् या अन्य नियुक्तिलगायतका निर्णय हेर्दा रास्वपा राजनीतिक दलका रुपमा स्थापित हुन संघर्षमै रहेको प्रष्टै देखिन्छ । यो पार्टीका नेता र सांसदहरुका अभिव्यक्तिले पनि त्यस्तो संकेत गर्छ । तीब्र आकांक्षा र प्रतिक्रियामा रमाउने नेपाली जनमतको परीक्षणमा उत्तिर्ण हुनसक्छ या सक्दैन रास्वपाको भविश्य त्यसैले निर्धारण गर्ने पक्का छ । 

१० वर्षसम्म भिषण संघर्ष गरेर आएको माओवादीसमेत पार्टी बन्न संघर्ष गरिरहेको तथ्य हेर्दा हावा हुण्डरीबाट उदाएका रास्वपासामु थुप्रै चुनौती छन् । हिजो आफूले उठाएका मुद्दामा खरो उत्रिन नसके त्यसको सामना गर्न सक्दैन । बिहानले दिनको संकेत गर्छ भनेजस्तै  चुनावपछिको चार महिनाले रास्वपाका कदम अन्तै मोडिन थालेको संकेत गर्छ । किनभने अमुक व्यक्तिका लागि सरकारमा जाने र छोड्ने स्वार्थलाई पार्टीको निर्णय बनाउने,मालदार मन्त्रालयका लागि मरिमेट्ने,नियुक्ति र सरुवा बढुवामा पुरानै शैली अपनाउने कुराले  वैकल्पिक राजनीतिको नारालाई न्याय गर्दैन । यसले प्रश्न उठ्छ,रास्वपा र अरु दलमा के फरक ? अहिले रास्वपा यस्तै प्रश्नको घेरामा छ,तर जवाफ दिन सकेको छैन ।  

रास्वपाले सुशासनको विषयलाई सबैभन्दा बढी आफ्नो चुनावी मुध्दा बनाएको थियो । तर,सभापति रवि लामिछाने नै अनेक विवाद र मुद्दा मामिला झेलिरहेका छन् । सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि सांसद र मन्त्री पद गुमाएका उनीमाथि राहदानी दुरुपयोगको आरोप छ । 

यसैबीच रास्वपाका एक सांसद घुस प्रकरणमा जोडिएका छन् । आफू स्वास्थ्यमन्त्री बन्न र सोही क्रममा पार्टी (सभापति रवि लामिछाने) लाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल बिचौलिया दुर्गा प्रसाईं मार्सीसँग पैसा मागेको अडियो बाहिरिएपछि सबैभन्दा चर्को रुपमा सुशासनको नारा लगाउने यस पार्टीमाथि प्रश्न उठेको छ । 

यसअघि सरकारी ठगीको आरोप खेपेका समानुपातिक सांसद श्रेष्ठले मेडिकल बिचौलियाको बदनामी कमाएका पात्रसँग रविलाई बुझाउन भन्दै रकम मागेको घटनाले रास्वपाकै घन्टी बजाइदिएको छ । भलै रास्वपाले सांसद श्रेष्ठलाई एक साताका लागि निलम्बनको कारवाही गरेको छ भने अडियोको सत्यता आउन बाँकी नै छ । तर, सार्वजनिक अडियो र त्यहाँ भएका संवादले केही गम्भीर प्रश्न भने उठाएको छ । 

अडियोको सत्यता छानविनपछि थप प्रष्ट होला नै, तर त्यहाँ भएका संवादले के निष्कर्ष निकाल्न सकिन्छ भने रास्वपामा लामिछानेको एकलौटी निर्णय चल्छ । त्यहाँ लामिछानेले जे चाह्यो त्यही हुन्छ। उनले जसलाई चाह्यो उसैलाई मन्त्री बनाउँछन् । सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियोमा सांसद श्रेष्ठले पार्टीमा मन्त्री बनाउने जिम्मा रविले लिएकाले उनका मान्छेलाई पैसा बुझाएपछि अरु कसैले रोक्न नसक्ने  बताएका छन् ।  

यसअघि पनि गणेश कार्कीलगायतले रास्वपामा सभापतिको एकलौटी निर्णय चल्ने गरेको गुनासो गर्दै आएका थिए । समानुपातिकबाट छानिएका श्रेष्ठलाई सांसद बनाउने निर्णयमा पनि रविले एकलौटी गरेको आरोप थियो ।

टिप्पणीहरू