१५ लाखको सामान २ लाखमा बेच्ने वडाध्यक्षविरुद्ध अनुसन्धान तीब्र

१५ लाखको सामान २ लाखमा बेच्ने वडाध्यक्षविरुद्ध अनुसन्धान तीब्र

-सन्तोष बराइली   

सिरहाको लहान नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामऔतार शर्माविरूद्व परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तीब्र पारेको छ । आयोगको बर्दिबास कार्यालय प्रमुख गोपालप्रसाद अधिकारीले अनुसन्धान अघि बढाइएको बताए । 

जनआस्थासँगको विशेष कुराकानीमा अधिकारीले वडाध्यक्ष शर्माको फाइल आयोगको केन्द्रीय कार्यालय पठाइसकेको र छानबिन अघि बढेको जानकारी दिएका छन् । उनले भने, ‘हामीले टिप्पणीसहित उनको फाइल केन्द्रीय कार्यालयमा पठाइसकेका छौं । आयोगको आदेशानुसार वडाध्यक्ष शर्मामाथि छानबिन र तहकीकात गरिने छ ।

वडाध्यक्ष शर्मा पछिल्लो केही समयदेखि अख्तियारको सुक्ष्म निगरानीमा छन् । अधिकारीका अनुसार केन्द्रले आयोगको बर्दिबास कार्यालय र जिल्ला प्रशासन कार्यालय,सिरहालाई पनि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिनसक्ने छ । केन्द्र आफैंले पनि प्रत्यक्ष कारबाही अघि बढाउन सक्ने उनको भनाइ छ ।

वडाध्यक्ष शर्माले गैरकानुनी रुपमा कवाड सामग्री बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोप लागेको हो । पूर्ववडाध्यक्ष राकेशकुमार गुप्ताले चैत १६ गते अख्तियारको बर्दिबास कार्यालयमा उजुरी दर्ता गराएका हुन् । दर्ता नम्बर ३७४४ रहेको उजुरीका साथै उनले आयोगको केन्द्रीय कार्यालय टंगालमा पनि शर्माविरूद्व भोलिपल्ट सोही उजुरी दर्ता गरेका थिए । केन्द्रको उजुरी दर्ता नम्बर अ–०५१३१३ रहेको जानकारी दिइएको छ ।

गुप्ताले दर्ता गरेको दुबै उजुरीमा भनिएको छ, ‘वडाध्यक्ष शर्माले १५ लाख ५० हजार पर्ने कवाड सामान १ लाख ७२ हजारमा बेचेका छन् । तत्काल कारबाही होस्, उनको वडाध्यक्ष पद खारेज होस् ।’ शर्माले वडा कार्यालयको पुरानो भवन भत्काएर नयाँ बनाउनुपर्ने भएकाले पुरानो भवनमा प्रयोग भएका झ्याल, ढोका, ग्रिल, रेलिङ्लगायत कवाड सामान, फलाम, फर्निचर सबै लिलामको प्रक्रिया नअपनाई नेसनल सप्लायर्स लहान ३, का प्रोपाईटर मोहम्मद साविरलाई बेचेको उजुरी निवेदनमा आरोप लगाइएको हो ।

टिप्पणीहरू