भिसा कमिशनवापत ८ हजार अमेरिकी डलर पठाइयो, यसअघि ३४ हजार डलर
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई हुँदै रोमानियातर्फ जान लागेका आठ जना नेपाली अवैध विदेशी मुद्रा बोकेको कसूरमा पक्राउ परेका छन् । उनीहरु प्रत्येकको साथबाट १ हजार अमेरिकी डलर हालिएको खाम फेला परेको बताइएको छ ।
फ्लाई दुबईको उडान नम्बर एफजेट ५७६ मा दुबई हुँदै रोमानिया जान लागेका ती सर्वसाधारण नेपाली ह्याण्ड व्याक चेकिङको क्रममा पक्राउ परेका हुन् । प्रत्येकसँग रहेको खाममा १ हजार डलर थियो ।
यसरी डलर बोकेको आरोपमा सनमकुमार चौधरी, रामचन्द्र गौतम, भेषकुमार थापा, महेन्द्र के.सी, दिपक थापा, ताराबहादुर गाहा, रामु राना र विश्वकल्याण राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो । त्यसपछि प्रहरीले गरेको अनुसन्धानमा उक्त रकम रोमानियाको भिसा लगाइदिएवापत रोमानियाली नागरिकलाई कमिशनवापत पठाइएको तथ्य खुलेको छ ।
प्रहरीका अनुसार सामाखुशीस्थित एभ म्यान पावर कम्पनीले विभिन्न व्यक्तिलाई भिसा मिलाएवापत कमिशन रकम पठाएको आठै जनाले सकारेका छन् ।
यसअघि गत बुधबार पनि दुबई हुँदै त्यता जान खोजेका ११ जना ३४ हजार ६८ डलरसहित पक्राउ परेका थिए । रोमानियामा आकर्षक जागिर लगाइदिने प्रलोभनमा त्यसतर्फ उडाउन खोजिएका ११ जना नेपालीको साथबाट उक्त डलर फेला परेको थियो ।
फ्लाई दुबईकै उडानमा दुबई जाने क्रममा विमानस्थलको सुरक्षा जाँच डेस्कमा उनीहरुको साथबाट ३ हजार डलरको दरले उक्त रकम फेला परेको हो । लगत्तै प्रहरी नियन्त्रणमा लिइएका ११ जनालाई महानगरीय प्रहरी वृत्त,नक्साल पुर्याइएको थियो । उनीहरु सबै द ग्लोबल रिक्रुटमेण्ट्स म्यानपावरबाट वैदेशिक रोजगारीमा जान लागेका थिए । सो रकम द ग्लोबलले भीसा मिलाउने व्यक्तिलाई कमिसनवापत रोमानिया पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । पछिल्लो समय विदेशमा सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पठाउने क्रममा उनीहरुको साथबाट विदेशमा रहेका दलाललाई डलर पठाउने गरिएको छ ।
टिप्पणीहरू