रविको कोर टिमको कर्तुत बाहिर ल्याउने भनेका ढाकाकुमार पार्टी अफिसमा
रवि लामिछानेको ‘कोर टीम’ लाई बुझाउन मेडिकल माफिया दुर्गा प्रसाईं मार्सीसँग पैसा मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ केही बेरअघि बसुन्धरास्थित केन्द्रीय कार्यालय पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न मार्सीसँग दुई करोड मागेको अडियो रेकर्ड सार्वजनिक भएलगत्तै पार्टीबाट निलम्बनमा परेका उनी यसबारे केन्द्रीय समितिको बैठकले गर्ने निर्णय सुन्न केन्द्रीय कार्यालय पुगेका हुन् । उक्त प्रकरणमा उनलाई कारबाही गर्ने नगर्ने निर्णय लिन अहिले रास्वपा बैठक बसिरहेको छ ।
सांसद श्रेष्ठले पार्टीको अनुशासन तथा आचरण समितिमा लिखित स्पष्टीकरण र मौखिक बयान दिइसकेका छन् । स्पष्टीकरणमा उनले उक्त अडियो आफ्नो नभएको दाबी गरेका छन् । रास्वपाले भने उनको स्पष्टीकरण र बयानमा टेकेर केन्द्रीय समितिबाट यो प्रकरणमा निर्णय लिने बताएको छ ।
भर्खरै पार्टी केन्द्रीय कार्यालय पुगेका उनले बैठकअघि केही नबोल्ने बताएका छन् । तर, यसअघि भने उनले आफूमाथि कारबाही भए ’कोर टीम’ को थप कर्तुत बाहिर ल्याउने चेतावनी दिएका थिए ।
टिप्पणीहरू