जंगबहादुरले युरोपमा बिताएको रंगीन जिन्दगी
आयरल्याण्डमा जन्मेकी लाउरा एलिजा जेन सेमोर बेलको बाल्यकाल सुरक्षित थिएन । युवावस्थामा टेक्नासाथ एउटा पसलमा काम गर्न थालिन् । निकै राम्री थिइन्, जिउडाल मिलेको । लामो र सुनौलो कपाल, ठूलो नीला आँखा अनि उत्तिकै बुद्धिमान पनि । पसलबाट पाइने ज्याला न्यून थियो । त्यसैले आफ्नो सौन्दर्यलाई लगानीमा लगाइन् र कलिलो उमेरमै वेश्यावृत्ति गर्न थालिन् । अनुभवी बनिसकेपछि १८ वर्षकै उमेरमा राजधानी शहर डब्लिन पुगेर कुलिन वर्गका, प्रख्यात पुरुषलाई मोहजालमा पार्न सफल भइन् । मनग्ये धन कमाइन् पनि । स्थायी ग्राहकमध्येका एक थिए– विलियम वाइल्ड । विश्वप्रसिद्ध कवि तथा नाटककार ओस्कार वाइल्डका पिता र शल्यचिकित्सक ।
पछि लण्डन पुगेर पेशामा यति छिटो प्रगति गरिन् कि वेश्याहरूकी रानी’ भनेर चिनिन थालिन् । त्यहाँ पनि थुप्रै ड्युक, मन्त्री, सांसद, वरिष्ठ राजनीतिज्ञलाई नियमित ग्राहक बनाइन् । फ्रान्सका सम्राट् लुइ नेपोलियन पनि उनीसँग रात बिताउनेमा पर्दथे । लाउराको शान यति बढ्यो कि उनी हरेक साता दुइटा सेतो घोडाले तान्ने बग्गी चढेर हाइड पार्कको सडकमा परेड गर्थिन् । त्यसबेला लण्डनमा मात्र ८० हजार वेश्या थिए अर्थात् प्रत्येक ६० घरमा एउटा वेश्यालय । तर, ती सबैभन्दा उनी शीर्षस्थानमा थिइन् त्यो पनि उक्त शहरमा पाइला टेकेको मात्र १ वर्षभित्र ।
सन् १८५० मा नेपालका तत्कालीन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा युरोपेली देशहरूको सैन्य शक्ति बुझ्ने उद्देश्यले त्यता गए । युरोपेली देशमा यस्तो भ्रमण गर्ने उनी दक्षिण एसियाबाट पहिलो उच्चपदस्थ व्यक्ति थिए, जसकारण मिडियामा धेरै चर्चा कमाए । भनिन्छ, यसै भ्रमणमार्फत उनले नेपाललाई सार्वभौमसत्तासम्पन्न राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भए । त्यो बेलाको सबैभन्दा शक्तिशाली साम्राज्य बेलायतसित सम्बन्ध बढाउनु भ्रमणको अर्को उद्देश्य थियो । तत्कालीन राजा सुरेन्द्रको दूत बनेर गएका जंगबहादुर बेलायत पुग्दा महारानी भिक्टोरियाको छोरा अधिराजकुमार आर्थर भर्खरै जन्मेका थिए । त्यसैले महारानी घरायसी काममा निकै व्यस्त थिइन् र भेटघाटको सम्पूर्ण कार्यक्रम स्थगन गर्न लगाएकी थिइन् । जसकारण जंगबहादुर लण्डन त पुगे तर भेट्ने समय नै पाएनन् ।
फुर्सदमा रहेका उनले यसबीच लाउराको सौन्दर्यबारे सुने । देशमा ४२ पत्नी भएका र स्त्रीलम्पट स्वभावका उनले मन थाम्न सकेनन् । र, उनीसँग सम्पर्क गर्न लगाए । जंगबहादुर फुर्सदिला भएकाले दुवैबीच पटकपटक भेट सम्भव भयो । लाउराले जंगबहादुरले आफूलाई मन पराएको चाल पाइसकेकी थिइन् । लाउराको प्रेममा पागल बनिसकेका उनले त्यहाँ एउटा महँगो कोठा लिए र हरेक माग पूरा गरिदिन थाले । महँगा–महँगा कपडा किनिदिए भने नेपालबाट लगिएको हीरा, मोती, जवाहरातलगायत गरगहना उपहार दिए । धेरैले लाउरासितको सम्बन्ध एउटी वेश्या र ग्राहकको मात्र भएको अर्थात उनीहरूबीच शारीरिक सम्बन्ध मात्र भएको बताउने गरेका छन् तर इतिहासकार पुरुषोत्तमसम्शेर जबरा भने उनीहरुबीच प्रेम सम्बन्ध नै रहेको दाबी गर्छन् । जंगबहादुर बेलायतमा पुग नपुग ३ महिना बसे । त्यसबेला लाउरा २१ वर्षकी थिइन् । शारीरिक सम्बन्धसमेत राखिएको दाबी गर्नेहरूका अनुसार जंगबहादुरले लाउराको निम्ति आजभन्दा १ सय ७३ वर्षअघि २ लाख ५० हजार पाउण्ड खर्च गरेका थिए । जंगबहादुरको तर्फबाट त्यत्रो सम्पत्ति पाइसकेपछि लाउरा धनी महिलामा गनिन थालिन् ।
भनिन्छ, जंगबहादुर लाउरालाई छाड्नै चाहँदैनथे । त्यसैले ‘श्री ३ महाराजलाई’ थाती राखेर र १ वर्षको लागि नेपालको राजदूत बनेर त्यहीँ बस्न चाहे । उनले आफूसँगै गएका टोली सदस्य तथा कर्मचारीमध्ये नोकरचाकरबाहेक अरुलाई स्वदेश फर्कनसमेत भन्न भ्याइसकेका थिए । तर सँगै गएकाहरूले महाराजजस्तो मान्छे बेलायतमा राजदूत बनेर बस्न मनासिव नहुने अडान लिएपछि बल्ल उनी स्वदेश फर्कन तयार भए । तैपनि, छुट्टिने बेला हीराको औँठी दिँदै भन्न भ्याए, ‘कुनै बेला दुःख परे मलाई सम्झनू ।’
र, यही बचन सम्झँदै लाउराले ७ वर्षपछि जंगबहादुरलाई पत्र लेखिन् र भारतमा सन् १८५७ मा भएको विद्रोहमा अंग्रेजहरूलाई सहयोग दिन अनुरोध गरिन् । जंगबहादुर र लाउराको सम्बन्धबारे बेलायती लेखक जोन ह्वेल्पटनले पनि आफ्नो पुस्तक ‘जंगबहादुर इन युरोप’ मा चर्चा गरेका छन् । जंगबहादुर सन् १८५१ मा स्वदेश फर्केका थिए । यसको ठीक १ वर्षपछि लाउराले क्याप्टेन अगुस्त फ्रेडरिख थिस्ट्लेथवातेसँग बिहे गरिन् । जंगबहादुरको कारण महँगोमहँगो गहना किन्ने र ऐयासीपूर्ण जीवन जिउने बानीलाई छुटाउन सकिनन् । परिणामस्वरुप केही समयपछि नै उनलाई आर्थिक समस्या आइप¥यो । उधारोमा किनिएका सामानको भुक्तानी गर्न सकिनन् । केही रकम लोग्नेले चुक्ता गरिदिए । लाउरा लोग्नेको सम्पत्तिमा ऐश गर्न चाहन्थिन् । यसै कुरामा झगडा हुन थाल्यो । यसबीच उनको भेट राजनीतिज्ञ विलियम ग्लाडस्टोनसित भयो, जो पछि ब्रिटेनको प्रधानमन्त्री बने । उनैको संगतमा लागेर वेश्यावृत्ति छाडिन् । धर्मप्रचारक बनी आफूलाई ‘भगवान्को दूत’ भन्न थालिन् । पछि सामाजिक कार्यमा सक्रिय बनिन् । ग्लाडस्टोन पनि सडक वेश्याहरूको उद्धार गर्न चाहन्थे त्यसैले उनीसित मिलेर लाउरा लण्डनका वेश्याको सहयोगार्थ हुने कार्यक्रममा सरिक हुन थालिन् ।
सन् १८८७ मा लोग्ने क्याप्टेन अगुस्तले गोली हानेर आत्महत्या गरे । लाउराले पछि कसैसित बिहे गरिनन् । उनको निधन सन् १८९४ मा ६५ वर्षको उमेरमा भयो । जंगबहादुरले लण्डनमा पाइला टेकेको २५ औं दिन मात्र (मे २६– जुन १९) महारानी भिक्टोरियालाई भेट्न पाए । र, १४ जुलाईमा फ्रान्सतर्फ लागे । ४० दिन त्यहीँ बसे । त्यहाँबाट भारत, श्रीलंका हुँदै सन् १९५१ को जनवरी २९ मा नेपाल फर्किए । जंगबहादुर र लाउराको सम्बन्धलाई लिएर बेलायती पत्रिका ब्रिस्टोलले सन् १९५०, अगस्तको अंकमा यसरी लेखेको थियो ‘नेपाली राजदूतले यो हप्ता यो देश छाडे र आफ्नो साथमा एक जवान अंग्रेजी केटी लिएर गए, ती केटी जसले सुन्दरता र दुष्ट आत्मालाई पनि माथ गरेकी छन्– उनी दोस्रो लोला मोन्टेज हुन्, ‘उनको उपस्थितिबाट नेपाली राजदूतको धेरै बदनाम भयो भनिएको छ । यहाँ उल्लेख गरिएका व्यक्तिको नाम लाउरा बेल हो, उनी एक सम्मानित आयरिश परिवारकी हुन्, तर केही समयदेखि लण्डनमा खुला र असाधारण व्यभिचारको जीवन बिताइरहेकी थिइन् ।’ स्मरणीय छ, लोला मोन्तेज नर्तकी, अभिनेत्री, नगरवधू र बाभेरियाका राजा लुडविग प्रथमकी अवैध पत्नी थिइन् । उनी पनि आइरिस नै हुन् ।
इतिहासकार ज्ञानमणि नेपालका अनुसार ‘१९ तोपको सलामी पाउने पक्कापक्की भएपछि बेलायत हिँडेका जंगबहादुर केही माग्न होइन, दिन र देखाउन गएका थिए । शीरदेखि पाउसम्म हीरा, जवाहरात, मणिमाणिक्यले झकिझकाउ भएर गएका उनले महारानी भिक्टोरियालाई दिन भारीका भारी उपहार लगेका थिए । जंगबहादुरले कति गैंडाका खाग, हस्तीहाडबाट बनेका सामान, असर्फी, देवदेवीका प्रतिमा, गहना उपहार दिए भन्ने कुरा खुल्दैन । उनको सम्मानमा आयोजित पार्टीमा महारानी खुशीले नाचेकी थिइन् ।’
कमलमणि दीक्षितका अनुसार ‘बेलायत गएका जंगबहादुर फुस्रा भएर स्वदेश फर्किए । हुन पनि, फर्किंदा फ्रान्समा खल्तीसमेत सकिएका थिए रे ! खल्ती छामछुम गर्दा केही नभेटिएपछि घाँटीमा बाँकी रहेको माला फुकालेर बाँडेका थिए रे ।’
टिप्पणीहरू