हाकिमहरु खोलातिर हेर्दैनन् ?
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाका नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न जेसीबीको प्रयोग भएका छन् । बालुवा, ढुंगा निकाल्न जेसीबी प्रयोग गर्न नपाइने भए पनि ठेकेदारहरूले टेर्दैनन् । मापदण्डविपरीत उत्खनन भएकाले खोलामा बाढी आउँदा नदी कटानको सम्भावना छ । लगातार बाटोमा ट्रिपर दौडिरहँदा जनताको स्वास्थ्यमा असर परेको छ । यता, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गर्ने ठेकेदारलाई कारवाही गर्ने बताए ।
तर अहिलेसम्म कुनै पनि निकाय खोलामा अनुगमन गर्न पुगेका छैनन् । बिसहवा खोला, गंगटे खोला, चिरई खोला र सुक्खा खोलामा जेसीबी प्रयोग भएका छन् । एन.बी. कन्स्ट्रक्सन शिवराजले बिसहवा खोला, विभू निर्माण सेवा सैँबु ललितपुरले गंगटे खोला, शिवगढी एन.आइ.पी निर्माण सेवा देवीचौर ललितपुरले चिरई खोला र लामा–गोल्डेन–शिवशक्ति जेभी महाराजगञ्ज काठमाडौँले सुक्खा खोलाको ठेक्का पाएका छन् ।
यति मात्र होइन, यी ठेकेदारहरूले जंगलमै डम्पिङसमेत गरेका छन् । बिसहवा खोला र सुक्खा खोलाको नदीजन्य पदार्थ ढुवानी गर्दा जंगलसमेत मासिएको पाइएको छ । बोट बिरुवा मासेर गिटी ओसार्ने सडक बनाइएको छ । यस्तै चिरई खोलामा नजिकै उत्खनन गरेर खोला छेउ घाटघद्दीसमेत गरेको पाइएको छ । ४ वटै खोलामा सूचना पाटी नराखी धमाधम अवैध तरिकाले ठेकेदारहरू मालामाल भैरहेका छन् ।
टिप्पणीहरू