चितवनमा दुई वटा सडक दुर्घटना, दुई जनाको मृत्यु

चितवनमा दुई वटा सडक दुर्घटना,  दुई जनाको मृत्यु

चितवनमा आज भएका दुई वटा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे कालिका नगरपालिका २ को भित्री सडक खण्ड र साँझ ५ बजेको समयमा भरतपुर १५ मा सवारी दुर्घटना भएका हुन् ।

दिउँसो लामाचोकबाट डेरी चोकतर्फ आउँदै गरेको ना.१५ प.३७७२ नम्बरको मोटरसाइकल र भाइरल घरबाट क्लबचोकतर्फ जाँदै गरेको बा.प्र.०३–०४प ९५१७ नम्बरको स्कुटर ठोक्किएका हुन् । घाइते भएका दुबै सवारी साधनका चालकलाई उपचारार्थ पुरानो मेडिकल कलेजमा पुर्याइएको थियो ।

मोटरसाइकल चालक पर्वतको फलेबास नगरपालिका ३ घर भई हाल भरतपुर ११, विशाल चोक बस्ने २३ वर्षका लालप्रसाद सुवेदीको अनुहार, गोडामा चोट लागेको छ । तर, धादिङ गल्छीका २१ वर्षे स्कुटर चालक राजकुमार ठकुरीको टाउकोमा गहिरो चोट लागेकाले ४ बजे ज्यान गएको बताइएको छ ।

उता भरतपुर १५ मा भरतपुरबाट मंगलापुरतर्फ जाँदै गरेको ना.२ ह ११९२ नम्बरको अटोलाई ना.२ ह ७३१७ नम्बरको अटोले ठक्कर दिएको हो । ७३१७ नम्बरको अटोमा सवार स्थानीय ३४ वर्षाीया सुमित्रा तामाङ  र निजकी छोरी १८ महिनाकी यान्बी तामाङ अटोबाट खसेको बताइन्छ । 

सो क्रममा सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००१च ५७९९ नम्बरको पिकअपले ठक्कर दिँदा दुबै गम्भीर घाइते भएका थिए । मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा १८ महिनाकी यान्बी तामाङको मृत्यु भएको जानकारी दिइएको छ ।

दुर्घटनामा संलग्न सबै सहभागी, पिकअप र अटोका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू