महाकालीको डुंगाबाट पछि हट्यो एसएसबी

महाकालीको डुंगाबाट पछि हट्यो एसएसबी

भारतको सशस्त्र सीमा बल (एसएसबी)ले अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा रेफ्टिङ नगर्ने भएको छ । सीमा नदीमा एकतर्फी सुरक्षा गस्तीको नाममा रेफ्टिङ गरेकोमा नेपालले विरोध जनाएपछि रोक लगाइएको हो ।

डेढ महिनाअघि फागुन ११ देखि १४ गतेसम्म दार्चुलाको सीमाक्षेत्र जौलजिवीदेखि तराई टनकपुरसम्मको क्षेत्रमा एसएसबीले रेफ्टिङमार्फत सुरक्षा गस्ती गरेको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसबारे पिथौरागढ जिल्ला प्रशासनलाई एकतर्फी सीमानदीमा कुनै पनि गतिविधि नगर्न भनेको थियो । नेपालसँग सीमा जोडिएको क्षेत्रमा अब एसएसबीले रेफ्टिङ नगर्ने जनाएको छ । भारतको चम्पावत जिल्लास्थित एसएसबीको पाँचौं वाहिनीका कमान्डेन्ट प्रमोद देवरानीले अल्मोडास्थित रानीखेत एसएसबी मुख्यालयबाट रेफ्टिङमा रोक लगाउने आदेश प्राप्त भएको बताए ।

सीमा सुरक्षालाई प्रभावकारी बनाउने भन्दै जौलजिबीदेखि टनकपुरसम्मको एक सय किलोमिटर लामो महाकाली नदी क्षेत्रमा एसएसबीले रेफ्टिङ गरेको थियो । सुरक्षा निगरानीका साथै महाकालीमा पर्यटकलाई समेत रेफ्टिङ गराउने भारतीय पक्षको तयारी थियो ।

रानीखेतस्थित एसएसबी मुख्यालयका डिआइजी डिएन बोम्बेले फागुन ११ गते जौलजिबीबाट रेफ्टिङको उद्घाटन गरेका थिए । उक्त रेफ्टिङ कार्यमा एसएसबीका ४५ सुरक्षाकर्मी सहभागी थिए । लगत्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले पनि महाकाली नदीमा रेफ्टिङ गरे ।
 

टिप्पणीहरू