सार्वजनिक कार्यक्रममा महिलालाई ‘सेक्सी’ भनेपछि एमाले अध्यक्षलाई तनाव

सार्वजनिक कार्यक्रममा महिलालाई ‘सेक्सी’ भनेपछि एमाले अध्यक्षलाई तनाव

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्थाल समुदायका महिलाका बारेमा हालै दिएको यौटा अभिव्यक्ति विवादमा परेको छ । सन्थाल महिलाहरु 'बोल्ड' हुन्छन् भन्दै भाषण गरेपछि उहाँ विवादमा पर्नुभएको हो । 

ओलीको अभिव्यक्तिको विरोध गर्दै सन्थाल समुदायले सार्वजनिक रुपमा माफी माग्न चेतावनी दिएको छ । सन्थाल समुदायलाई सतार भन्दै ओलीले केही दिनअघि पत्रकार सम्मेलनमा सो समुदायका महिलाको पहिरनलाई लिएर एकदमै आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । 

उहाँले भन्नुभएको थियो,‘हाम्रो गाउँका सतार महिलाहरुले जुन पहिरन लगाउनुहुन्छ,त्यो टिभीमा ल्याएर देखाइदिने हो भने वाहा ! बोल्ड सिन भनेर उधुम मच्चिन्छ । एउटा गम्छा यसो बाँधेको हुन्छ, माथि एउटा गाम्छा यसो हालेको हुन्छ । क्या बोल्ड सिनजस्तै देखिएको छ भन्ने हुन्छ ।’

सन्थाल समुदायले भने ओलीले आफूहरुको अपहेलना गरेको भन्दै उक्त अभिव्यक्ति फिर्ता लिन माग गरेको छ । सतार जातिलाई सन्थाल जाति बनाउनुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय,मोरङ्गमा ज्ञापनपत्र बुझाइरहेको अवस्थामा पूर्व प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा पुगिसकेको व्यक्तिले हेपाहा प्रवृत्ति देखाएको उनीहरुको आरोप छ । 

सन्थाल समुदायको भोटबाट चुनाव जितेर प्रधानमन्त्री भएको व्यक्तिले सार्वजनिक कार्यक्रममा दिएको अपमानजनक अभिव्यक्ति दास मानसिकताको पराकाष्ठा भएको उनीहरुले बताएका छन् । आदिवासी समुदायलाई होच्याउने मनशाय राखेर ओलीले मनलाग्दी बोलेको आरोप लगाउँदै सार्वजनिक रुपमा पश्चाताप गर्न भनिएको छ । 

अन्तर्राष्ट्रिय सन्थाल परिषद्ले संस्थागत रुपमै ओलीको अभिव्यक्तिप्रति घोर निन्दा गरेको जनाएको छ । उहाँले नचाँहिदो अभिव्यक्ति दिएको परिषद्का उपाध्यक्ष मोहन टुडुको ठम्याइ छ । 

‘तपाईंलाई हामी पूर्वप्रधानमन्त्री भनेर सम्मान गर्छौं अनि झापाको शान ठान्थ्यौं । तर,आज तपाईंप्रति अनगिन्ती प्रश्नहरु खडा भएका छन्’,उनले अगाडि थपेका छन्,‘कि तपाईंको दिमागी हालत बिग्रिन थालेको छ ? त्यही भएर चाहिँदो नचाहिँदो कुरा गर्नुहुन्छ ।’
 

टिप्पणीहरू