नयाँ वर्ष वि.सं. २०८० प्रारम्भ

नयाँ वर्ष वि.सं. २०८० प्रारम्भ

भर्खरै नयाँ वर्ष २०८० प्रारम्भ भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले बैशाख संक्रान्तिलाई मेष अर्थात् बैशाख संक्रान्ति भनिन्छ । 

नयाँ वर्षको पहिलो दिन बैशाख १ गते आज देश विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरेर मनाइरहेका छन् । नयाँ वर्षको प्रारम्भमा कामको सफलता र असफलताको मूल्याङ्कन गरी नयाँ योजनाको संकल्प गर्ने प्रचलन छ ।

नयाँ वर्षको अवसरमा मुलुकभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिइन्छ । नयाँ वर्षमा नयाँ कामको थालनी गर्ने चलन भएकाले विशेषगरी पशुपतिनाथलगायत हिन्दू मठमन्दिरमा उज्यालो भएपछि दर्शनार्थीहरुको घुइँचो लाग्नेछ । 

त्यस्तै, पर्यटकीय क्षेत्रहरुमा विशेष चहलपहल छ । नयाँ वर्षको उपलक्ष्ममा वनभोज र विभिन्न स्थानमा घुमफिर गर्ने चलन पनि बढेको छ । नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा बैशाख १ गते उत्कर्षमा पुग्छ ।

टिप्पणीहरू