पूर्वप्रेमिकाले मागेकी उपहार
लघुकथा
राष्ट्र बैंकले खुसी हुँदै चालू आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण सार्वजनिक गर्यो। बैंककले सार्वजनिक गरेको विवरणमा रेमिट्यान्स बढिरहेको उल्लेख छ । मासिक एक खर्ब रेमिट्यान्स भित्रिरहेको राष्ट्र बैंकको विवरण हेरिरहँदा म विगत सम्झिरहेछु ।
त्यो बेला म दूधे बालक छोडेर वैदेशिक रोजगारीमा गएकी थिएँ । दिनभर काममा जोतिएर । साँझ क्याम्प फर्कंदा नेपालबाट बूढाले फोन बिलौना गर्थे–‘आज दिनभर छोरो दुध खोजेर दिनभर रोइरह्यो । बोतलको दुधले उसको तिर्खा त मेटियो । सायद आमाको ममता भेटिएन् ।’
दिउँसो गानिएको दुधको दुखाई त के हो र, त्योभन्दा लाखौं गुना दुखें म । सबैकुरा थाहा हुँदाहुँदै पनि बूढाको मन चोर्न एउटा प्रश्न गरें– ‘बूढा ! त्यसो भए म फर्कन्छु नि त ?’
बूढाले पीडा मिस्सिएको हाँसो हाँसेर जवाफ दिए– ‘भै हाल्छ नि, अब ३ वर्ष ११ महिना तीन हप्तापछि ... ।’
कहिले पीडाको कुरा हुन्थ्यो । कहिले सुखको ।
खै के के सोच्यो मनले ? जे भए पनि मैले केहीबेरमै हाँसीहाँसी बूढालाई पूर्वप्रेमिकालाई भेट्न जाने अनुमति दिएँ ।
भोलिपल्टको भिडियो कलमा बूढा, पूर्वप्रेमिकाबीचको प्रसङ्ग नआउने कुरै भएन ।
‘बूढी त्यसले कत्रा उपहार मागी नि ?’
‘के मागी त्यस्तो ?’
‘छोरो’
(मनमनै भनेपछि छोरोको बीज रोपेर आयौ ।) तर मुखले भनें– ‘दियौ त उपहार ?’
‘दिइन नि ।’
‘किन नदिएको त ?’
‘छोरो मेरो मात्रै थिएन्, तिमी र म नभइदिएको भए कसरी छोरो हुन्थ्यो र ? तलबितल केही पर्छ भनेर त म पनि छोरो सँगै लिएर गएको नि ।’
दूधे छोरो छाडेर विदेश आएकी म । म छोरो त्यत्रै छ भन्ने लागिरहँदो रहेछ । तर यथार्थ त्यस्तो थिएन् । छोरो बाउको हात समाएर, बाउको पूर्वप्रेमिकासँगको भेटको साक्षी बस्न सक्ने भइसकेको थियो ।
टिप्पणीहरू