राजधानीका प्रहरी चौकीमा सवारी साधनको बिजोग

राजधानीका प्रहरी चौकीमा सवारी साधनको बिजोग

काठमाडौँ उपत्यकाभित्रका ट्राफिक प्रहरी कार्यालयमा नियन्त्रण (होल्ड) मा रहेका सवारीसाधनको व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको छ । उपत्यकाका तीनवटै काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल तथा चार पाङ्ग्रे सवारी साधनको व्यवस्थापनमा समस्या उत्पन्न भएको बताइएको छ ।

हाल उपत्यकाभित्रका ट्राफिक प्रहरी कार्यालयमा मात्र नभई बाहिर सडकपेटीमा समेत त्यस्ता सवारीसाधनहरु तेर्साएर राखिएका छन् । यी सवारी साधनमध्ये अधिंकाश काम नलाग्ने अवस्थामा पुगेका छन् । 

ट्राफिक प्रहरीले दिनहुँ गर्ने चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीसाधन सवारी धनीले लिन नआउँदा तिनको संख्या कार्यालय हातामा दिनप्रति दिन बढेको हो । पुस्तकालयमा पुस्तकको चाङ लागेझैँ प्रहरी चौकीमा सवारी साधनको लाइन देखिन थालेको छ ।

यसरी नियन्त्रणमा लिइएका सवारी साधनका कारण कार्यालयमा आउने सेवाग्राहीका लागि पार्किङस्थलको अभाव, सवारी आवागमनमा बाधा, दुर्घटनाको सम्भावना, सवारी साधनको संरक्षण र सुरक्षामा समस्या आउने गरेको बताइन्छ । यसले एकातिर ट्राफिक प्रहरी कार्यालयहरुको स्वरुप अस्तव्यस्त देखिएको छ भने अर्कोतर्फ सहरको सुन्दरतामा कुरुपता थपिएको छ ।

प्रहरी नियन्त्रणमा रहेका केही सवारीसाधन दुर्घटनाका बखत होल्ड गरिएका हुन् भने बाँकी ट्राफिक प्रहरीले दैनिक रुपमा गर्ने चेकजाँचका क्रममा मापसे गरेका, सवारी कागजात नबोकेका, सवारी कागजात नभएका, नवीकरण नगरिएका तथा चोरिएका हुन् ।  

यता लामो समयसम्म सवारीसाधन इजाजतपत्र नवीकरण नभएका कारण ठूलो परिमाणमा जरिवाना तिर्नुपर्ने भएपछि सवारीधनीले साधन लिन नआउने गरेको पाइएको छ । 

त्यस्तै, निषेधित क्षेत्रमा पार्किङ गरिएको कारण ट्राफिक प्रहरीले उठाएर ल्याएको तथा सवारी धनी विदेशमा रहेको र दर्ता किताब हराएर प्रतिलिपि बनाउन नसकेका कारण पनि त्यस्ता सवारी साधन बेवारिसे अवस्थामा पुगेका हुन् । 

कतिपय अवस्थामा सवारी साधन पुरानो भएको कारण वा सवारी धनी परिवर्तन भएको तर सरकारी अभिलेखमा अद्यावधिक नभएर पनि ती सवारी साधन बुझ्न समस्या उत्पन्न भएको हो ।

प्रहरी नियन्त्रणमा लिइएका सवारी साधन सवारीधनीले डरले पनि लिन नआएको बताइन्छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (प्रवक्ता) राजेन्द्रप्रसाद भट्टका अनुसार ट्राफिक प्रहरीले कारबाही गरेर ल्याएका अधिंकाश सवारी साधन अलपत्र पर्ने गरेको छ ।

उनले सवारीधनीले ती साधन लिन नआउँदा समस्या उत्पन्न भएको बताए । भट्ट भन्छन्, ‘होल्डमा भएका सवारी साधन प्रक्रिया पूरा गरेर धेरैले फिर्ता लैजाने गरेको छ । तर, विभिन्न प्राविधिक समस्याका कारण कतिपय त्यस्ता साधन फिर्ता लिनै आउँदैनन् ।’

‘धेरै वर्ष कर नतिरेको, सवारी साधन पुराना भएका वा कतिपय सवारी धनीले डरले पनि लिन नआउने पाइएको छ,’ उनले थपे, ‘जसले गर्दा दिन प्रतिदिन ट्राफिक प्रहरी कार्यालय हातामा सवारी साधनको चाङ बढ्दै गएको छ ।’ 

उनका अनुसार प्रहरी चौकीमा दुई हजार १३ ओटा त्यस्ता सवारी साधन अलपत्र अवस्थामा छन् । तीमध्ये एक हजार सात सयलाई यातायात कार्यालयबाट विवरण उपलब्ध गराएर बुझ्न आग्रह गर्दा समेत जम्मा ९८ जनाले लिएका हुन् । 

ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर अलपत्र पर्ने गरेका यस्ता सवारी साधनको व्यवस्थापनको निम्ति कानून निर्माण गर्न पटक पटक सरोकारवाला निकायसमक्ष अनुरोध गर्दै आएको प्रवक्ता भट्टले बताए । तर, हालसम्म पनि यी सवारी साधनको व्यवस्थापनका निम्ति सम्बन्धित निकायले कुनै पहल नगरेकोमा उनको गुनासो छ ।

टिप्पणीहरू