सल्काउने आगो आफ्नो, नेभाउने पानी आफ्नै

सल्काउने आगो आफ्नो, नेभाउने पानी आफ्नै

मन्त्रीले नै आगो झोस्ने, अनि आफैँले पानी पनि छम्किने ! अहिले चलिरहेको मीटरव्याजपीडितको आन्दोलनमा यस्तो देखिएको छ । गिरिराजमणि पोखरेलको जिल्ला महोत्तरीको बर्दिबासबाट न्याय खोज्नका निम्ति हिँडेर काठमाडौं आएको मीटरव्याजपीडितको पहिलो टोली समस्या समाधान हुने भएपछि फर्किसकेको छ । तर, उक्त टोली घर नपुग्दै काठमाडौंमा अर्को टोली आइलाग्यो गृहमन्त्री फेरिनासाथ । यसरी एकपछि अर्को गर्दै विभिन्न टोलीले काठमाडौं घेर्ने पनि अचम्मको कारण रहेछ । 

एकजना निर्ग जैसी छन् । उनले चितवनभन्दा पश्चिमतिरका मीटरव्याजपीडितको जिम्मा लिएका छन् । तिनलाई क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र विश्वभक्त दुलाल (आहुति) हरूले समर्थन गर्छन् । अर्को टोली छ, चितवनपूर्वका पीडितलाई काँध हाल्ने । त्यताको जिम्मा मनोज खतिवडाले लिएका छन् । एकातिरका पीडित काठमाडौं पुगेपछि अर्कातिरका पीडित सल्बलाइहाल्ने अचम्मका घटना देखिन्छन् । त्यसैमध्येकी हुन्, सरस्वती मिश्र । मीटरव्याजविरुद्ध पहिलोपटक आन्दोलन गर्ने डाचाराम पौडेलको केही समयअघि ट्र्याक्टर दुर्घटनामा परी निधन भयो । सरस्वती उनैकी पत्नी हुन् । उनलाई मदन अर्यालले भरथेग गर्छन् ।

मदनचाहिँ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयका मान्छे ! गिरिराजमणि र नारायणकाजी एउटै पार्टीका अगाडि मदन देखिए पनि मुख्यतः घाउ कोट्याउने आफैं, मैले अपरेशन गरी निको पारिदिएँ भनेर जस लिने खास पात्र अरु नै त हैनन् ? राजनीतिमा श्यामसुन्दर गुप्ताले झैँ पहिला आफैँ अपहरण गर्ने र छुट्याउन आफैंले मध्यस्थता गर्ने चलन थियो । अनेक नामका पीडितहरू अचेल काठमाडौं आउँछन्, होहल्ला गर्छन्– कसको उक्साहटमा ! तिनका माग संबोधन गर्न सरकारले वार्ता गर्नुप¥यो, फेरि उही मन्त्रालयको अग्रसरतामा । फेसनजस्तै बनेको छ, त्यस्ता पीडित काठमाडौं छिर्ने, रत्नपार्कस्थित शान्ति बाटिकामा बस्ने ।

उनीहरूलाई विभिन्न एनजिओ, आइएनजिओहरूले खुवाउने । राष्ट्रिय अनुसन्धान विभागलाई प्राप्त सूचनाअनुसार अब यसपछि हरूवा–चरुवाको अर्को टोली काठमाडौं आएर आन्दोलन गर्ने तयारीमा छ । उक्त टोली सर्लाहीमा स्ट्याण्डबाई छ । 
 

टिप्पणीहरू