सरकारको नीति : सार्वजनिक यातायातको नयाँ दर्ता नखोल्ने, निजीलाई पनि यात्रु बोक्न नदिने

सरकारको नीति : सार्वजनिक यातायातको नयाँ दर्ता नखोल्ने, निजीलाई पनि यात्रु बोक्न नदिने

सरकारले निजी प्लेटका सवारी साधनमा यात्रु बोक्न प्रतिबन्ध लगाएपछि आमनागरिकले असन्तुष्टि जनाएका छन् । कुनै विकल्प नै नदिई निजी प्लेटका सवारी साधनलाई यात्रु बोक्न निषेध गरिएको भन्दै सर्वसाधारणले गुनासो पोखेका हुन् । 

गत चैत २२ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले आफुखुशी भाडा लिएर यात्रु ओसार्ने निजी प्लेटका सवारीसाधनलाई कारबाही गर्न निर्देशन दिएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निजी प्लेटको सवारीसाधनलाई कारबाही गर्न आग्रह गरेसँगै गृह ‘एक्सन’ मा उत्रिएको हो । तर, त्यसले यात्रुलाई पर्ने अप्ठ्याराबारे सरकारले मनन नगरेको आरोप सर्वसाधारणले लगाएका छन् ।

यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा ९१० ले एक प्रयोजनका निम्ति दर्ता भएको सवारी साधन अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । ऐनमा लेखिएको छ, ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी साधन अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन ।’

सार्वजनिक यातायातले यात्रुलाई राम्रो सेवा सुविधा दिन नसकेपछि निजी प्लेटको धन्दा मौलाएको हो । निजी प्लेटमा यात्रु बोकेर कतिपयले रोजगारी पाएका छन् त आपतविपतमा परेकालाई सहज भएको छ । 

पछिल्लो समय पठाओ, इनड्राइभजस्ता संस्था सञ्चालनमा छ । त्यहाँ दर्ता भएर रातो प्लेटका मोटरसाइकलहरुले यात्रु बोकिरहेका छन् । सार्वजनिक यातायात अपुग भएर निजी प्लेटको व्यवसाय मौलाएको थाहा हुँदाहुँदै पनि यातायात व्यवसायीले मन्त्रालयलाई दबाब दिएर यात्रुको हक खोस्नु उचित होला त ?

सार्वजनिक यातायातको संख्या थप्न नसक्ने सरकारले निजी प्लेटले दिइरहेको सुविधा कटौती गर्न नपाइने मीना अधिकारीको भनाइ छ । ‘भनेको बेला गाडी पाइँदैन । अझ बिहान बेलुकी गाडी पाउन निकै गाह्रो छ । ढोकामा झुण्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । पठाओ र इनड्राइभले यात्रुलाई सहज बनाइदिएको छ’, उनले भनिन्, ‘सरकारले सार्वजनिक यातायातको संख्या नथप्ने र निजी प्लेटलाई पनि प्रतिबन्ध लगाउने हो भने यात्रु केमा चढ्ने ? सबैसँग प्राइभेट साधन त नहोला ।’

टन्न सवारी साधन भएर पनि पठाओले व्यवसाय गरेको भए गलत हुने दिनेश थापाको भनाइ छ । ट्याक्सीले चर्को भाडा लिने भएकाले पठाओले सहज बनाइदिएको उनी बताउँछन् । ‘पठाओले यातायात व्यवसायीलाई केही अप्ठ्यारो पारेको जस्तो लाग्दैन । सार्वजनिक यातायात कम भएको बेला पठाओले सहज बनाइदिएको छ । ट्याक्सी चढ्नलाई भाडा चर्को छ । चाहिएको बेला बस पाइँदैन, अनि यात्रुले के गर्ने ?’, उनले आक्रोशित हुँदै भने । 

यातायात अभियन्ता रामबहादुर थापा सार्वजनिक यातायातको नयाँ दर्ता नखोल्दासम्म यो परिस्थिति देखिरहने बताउँछन् । यातायात व्यवसायीहरु बीचकै हानाथापका कारण यात्रुले कहिले सेवासुविधा नपाउने उनको ठम्याइ छ । 

निजी प्लेटको सवारी साधन चढ्नु बाध्यता भएको बताउँदै उनले भने, ‘जनसंख्यालाई धान्ने सार्वजनिक यातायात भएको भए कसले निजी प्लेटको सवारी चढ्थ्यो र ? २० रुपैयाँले पुग्ने ठाउँमा एक सय रुपैयाँ तिरेर यात्रु यात्रा गर्न बाध्य छन् । यातायात व्यवसायीले गर्न खोजेको चाँहि के हो ? आफू पनि राम्रो सेवा सुविधा दिँदैनन्, अरुले दिएको पनि देख्न सक्दैनन् ।’

काठमाडौं मुलुकको राजधानी हो तर यहाँ राति ७ बजेपछि गाडी पाइँदैन । ट्याक्सी चढ्नलाई भाडा तिरेर साध्य हुँदैन । सरकारले सार्वजनिक यातायातको विकल्पमा अन्य कुनै सवारीको दर्ता पनि खोलेको छैन । 

सार्वजनिक यातायातको संख्या न्यून छ, जनसंख्या धेरै । विगतदेखि नै फो–स्टक ट्याम्पोको दर्ता खोल्नुपर्ने माग सर्वसाधारणले राख्दै आएका छन् । विडम्बना, सरकारको कानसम्म पुग्न सकेको छैन । यातायात व्यवसायीले आग्रह गर्नेबित्तिकै निजी प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने निर्णय गर्न सक्ने सरकारले सार्वजनिक यातायातको नयाँ दर्ता खोल्न किन सकेन ?

गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ्ग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दबाब दिएपछि उक्त निर्णय गर्नुपरेको बताउँछन् । निजी प्लेटको सवारी साधनले चर्को भाडा लिएको उल्लेख गर्दै व्यवसायीले असन्तुष्टि जनाएपछि परिपत्र गरिएको उनको भनाइ छ । 

यातायात व्यवसायीले चाँहि सरकारले तोकेकै भाडामा यात्रु बोकेका छन् त ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुले निजी प्लेटका सवारीले मँहगो भाडा लिएको भनेर पत्र लिएर आउनुभएको थियो । हामीले त्यसकै जवाफ दिएका हौं । योबाहेक मलाई केही पनि थाहा छैन ।’

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार निजी प्लेटका सवारी साधनले भाडामा यात्रु बोक्न कालो प्लेटमा दर्ता गर्नुपर्छ । तर, अहिलेसम्म सरकारले भाडामा यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कालो प्लेटमा दर्ता गर्ने भनेर निर्णयसमेत गर्न सकेको छैन । 

उनले सुनाए्, ‘भाडाका गाडीको संख्या थोरै हुँदा यात्रुहरु निजी प्लेटको सवारी साधनमा चढ्न बाध्य भएको कुरा हामीले पनि मनन गरेका छौँ । तर, कानूनमा निजी प्लेटको सवारीले भाडामा यात्रु बोक्न पाउँदैन । यदि निजी प्लेटको सवारीसाधनले यात्रु बोक्न चाहेमा नीतिगत रुपमा कालो प्लेटमा दर्ता हुनुपर्छ ।’

उनले विद्युतीय बसहरुको दर्ता खोल्ने प्रतिबद्धतासमेत जनाएका छन् । त्यसैगरी, संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सर्वसाधारणको सहजीकरणका लागि आवश्यक पर्ने निर्णय गर्न सरकार हरदम तत्पर रहेको दाबी गरेका छन् । जनआस्थासँग कुरा गर्दै उनले सर्वसाधारणको समस्या नै सरकारको समस्या भएको बताए । उनी सार्वजनिक यातायातको नयाँ दर्ता खोल्नेतर्फ सकारात्मक देखिएका छन् ।

टिप्पणीहरू