को पत्रकार बन्ने, कसलाई ठीक छ भन्ने
– शरद अधिकारी
नेपालका पत्रकारहरूको छाता संस्थाले चैत १७ गते रूपन्देहीको लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन आयोजना ग¥यो । सम्मेलनमा केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति र केही अन्यको उपस्थिति थियो । तीनवटा विषयमा छलफल गरिएमध्ये एउटा थियो– अहिले सञ्चारमाध्यमको अवस्था कस्तो छ ? तिनलाई टिकाउन के गर्न सकिन्छ ? अर्को विषय सञ्चार क्षेत्रमा रहेका कानुनको अवस्था, परिमार्जनका लागि गर्नुपर्ने काम थियो । सबैभन्दा महत्वपूर्ण विषय थियो शुद्धीकरण । विषयका हिसाबले धेरैले कुरा राख्न चाहन्थे । कानुनका विषयमा सहभागीको चासो र चिन्ता कम थियो । यद्यपि, महत्वका हिसाबले यो बढी प्राथमिकतामा पर्नुपर्ने थियो । संविधानमै प्रेस स्वतन्त्रताबारे स्पष्ट लेखिएका कारण पनि पत्रकार अगुवाहरू यो विषयमा छलफल गर्न उत्साहित नभएका हुन सक्छन् । कानुनमा लेखिएका कुरासँग बाझिनेगरी ऐन र नियमावली ल्याउन मिल्दैन तर कारवाहीका हिसाबले कतिपय कुरा आउँदा यसअघि अनेकन विवाद भएको सबैलाई थाहा छँदै छ ।
एकताका पत्रिकामा बाइलाइन समाचार लेख्नेबारे समाजले बढी थाहा पाउँथ्यो । कुनै समय रेडियोमा काम गर्नेहरूको क्रेज बढी रह्यो । टेलिभिजनमा अनुहार देखिनेहरूको त कुरै बेग्लै । सञ्चारमा कतिपय पात्र देखिँदैनन्, सुनिँदैनन् तर उनीहरूको भूमिका महत्वपूर्ण हुन्छ । जो देखिन्छ, जो सुनिन्छ त्यसको नै बढी चर्चा हुन्छ । देखिनेहरूको क्रेजप्रति यो पेशामा आकर्षण रहेको देखिन्छ । पत्रकारिता पेशामा लागेकाहरूका कारण यो पेशा बदनाम जति भएको होला त्योभन्दा बढी यो पेशालाई भजाउनेहरूका कारण समस्या छ ।
निजामती सेवामा रहेकाहरूलाई तुरून्तै बिदा दिनैपर्छ । राताे कार्ड धेरैले लिएका छन् ।
अहिलेको तथ्यांकअनुसार देशभरका १३ हजारभन्दा बढी पत्रकार महासंघमा आबद्ध छन् । महासंघको विधानले कम्तीमा एसएलसी गरेकाले मात्रै सदस्यता लिन पाउने भनेको छ तर एसएलसी पास नगरेकाहरू पनि पत्रकारितामा उत्तिकै छन् । कतिपय महासंघको सदस्यता नलिइकनै पत्रकारिता गर्छु भन्नेहरू छन् । महासंघको सदस्यता मात्रै पत्रकारिताको प्रमाण होइन । अबचाहिँ पत्रकारिता विगतमा गरेका थियौं भन्नेहरूलाई बिदा दिनुप¥यो । अन्य पेशा व्यवसायमा गएकाहरूलाई गुडबाई भन्नुप¥यो । पत्रकारितालाई शुद्ध बनाउनका लागि पत्रकारिताको ज्ञान भएकाहरूको संख्या बढाउनुप¥यो । पत्रकारितामा विकृति बढ्यो भनेर मात्रै पत्रकारितालाई शुद्ध बनाउन सकिँदैन ।
नेपाल पत्रकार महासंघले जारी गरेको घोषणापत्रका नौमध्ये तीन वटा बुँदा शुद्धीकरणसँग सम्बन्धित छन् । तर, के घोषणाले मात्रै सबथोक होला ? नेतृत्वले दबाब थेग्न सक्ला कि नसक्ला ? मिडिया सम्मेलनमा राजनीतिमा लागेकाहरूको सदस्यता खारेज गर्ने प्रसंग पनि जोडतोडका साथ उठेको थियो तर पत्रकारितालाई शुद्धीकरण गर्नका लागि राजनीति गरिरहेका र पत्रकारिता गरिरहेकाहरू नै बाधक हुन् त ? यो प्रश्नको स्पष्ट जवाफ कसैले दिन सक्दैन । पत्रकारिता टिक्ने भनेको जनताको विश्वासले हो । कसैले गरिरहेको पत्रकारिता सत्य छ कि छैन, वस्तुनिष्ठ छ कि छैन, उसले ठीक विषय उठान गरेको छ कि छैन भनेर जाँच्ने उपभोक्ताले हो । पत्रकार महासंघले आफ्ना सदस्य पत्रकारिता गरिरहेकाहरू मात्रै बनुन् भन्ने चाहन्छ भने उसले केही बुँदामा ध्यान दिनुपर्छ ।
१. कुनै व्यक्तिले पाँच वर्ष पत्रकारिता गरेको छ भने मात्रै उसलाई सदस्यता दिने । यो वा त्यो नाममा सदस्यता थप्ने काम तुरुन्त बन्द गर्ने । पुराना विस्थापित हुने तर नयाँ सदस्य थप्ने कुराले सदस्यको संख्या त बढ्छ, गुणस्तर आउँदैन । अहिले चार वटा कटिङ पेश गरेको भरमा सदस्यता वितरण गर्ने जुन नियम छ, यसलाई अविलम्ब बदल्नुपर्छ ।
२. पत्रकारिता पेशालाई मर्यादित बनाउने हो भने निजामती सेवामा रहेकाहरूलाई तुरुन्तै बिदा दिनैपर्छ । जागिर छोडेर पुनः पत्रकारिताको विभिन्न भूमिकामा आउन जो कसैलाई छुट छ ।
३. कुनै व्यक्तिले जिल्लागत रूपमा वा भूगोलका हिसाबले कहाँ बसेर पत्रकारिता गरिरहेको छ सोअनुसार सदस्यता दिनुपर्छ । कुनै जिल्लाबाट कर्मक्षेत्र परिवर्तन गरेर अन्यत्र गयो भने उसलाई स्थानान्तरण गर्नुपर्छ । यस्तो हुन सक्यो भने मात्रै कुनै व्यक्तिले गरिरहेको पत्रकारिताबारे सबै जानकार हुन्छन् ।
४. पत्रकारिता गर्नेहरूलाई सूचना विभागले दिने प्रेस पासको चरम दुरूपयोग भएको छ । रातो कार्ड पत्रकार महासंघको सदस्यता नपाएका धेरैले लिएका छन् । सिंहदरबार छिर्न सजिलो हुन्छ भनेर लिइने यस्ता सदस्यताको छानबिन गरिनुपर्छ ।
५. एसएलसी पास गरेकाबाट शैक्षिक योग्यता कम्तीमा प्लस टुसम्म पु¥याउनुपर्छ । हुन त कतिपय दूरदराजमा यो समस्या होला भन्ने तर्क आउन सक्छ । नेपालको पत्रकारिता सदरमुकाम र बजारकेन्द्रित रहेको हामीलाई थाहा छ ।
६. आचारसंहिता जागरणका कक्षा मुलुकभर चलाउनुपर्छ । अहिले त प्रेस काउन्सिलमा उजुरी आउँदा वा स्वअनुगमनका लागि नजर पुग्दा मात्रै त्यो चासोको विषय बन्छ । स्पष्ट हुनुपर्ने धेरै विषय दायरामै आएका हुँदैनन् ।
पत्रकारितामा शुद्धीकरणको कुरा गरिरहँदा सवलीकरणको पनि आवश्यकता बोध हुन्छ । ज्ञानका हिसाबले सवल, आर्थिक हिसाबले सवल, आचारसंहिता जागरणका हिसाबले सवल हुन सक्ने हो भने पत्रकारितामा देखिएका अनेकन समस्या समाधान भएर जानेछन् । पत्रकार महासंघमा सदस्य संख्या जति पनि हुन सक्छ तर गुणस्तरमा ध्यान दिनुपर्छ । यसलाई चाख्ने हैन, लेख्नेहरूको संस्था बनाउनुपर्छ । लेख्नेहरूलाई गम्भीर बनाउन सकियो भने नलेख्नेहरू आफैँ किनारा लाग्छन् ।
टिप्पणीहरू