अर्का श्रीमान्लाई पनि आपत्
देशभरका सबै न्यायाधीश उहाँजत्तिकै सक्रिय र उधार भइदिए कस्तो हुन्थ्यो होला अदालतको अनुहार ! सिरहा जिल्ला अदालतले सवारी अंगभंग मुद्दाका प्रतिवादीलाई तीन दिनमै चोख्याएको छ । जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलाशले सवारी मुद्दाका फरार प्रतिवादीलाई १९ महिना फरार रहेर हाजिर भएको तीन दिनमै सफाइ दिएको हो ।
लहान नगरपालिका वडा नम्बर १५ बस्ने कपिलदेव यादवको छोरा नन्दलालले तीन दिनमै अदालतबाट फास्टट्र्याक विधिमा सफाइ पाएपछि रुपन्देहीको माताजी प्रकरणमा झैँ उम्किएका यिनै श्रीमान्माथि न्यायपरिषद्ले जाँचपड्ताल शुरु गरेको छ ।
२०७८ असार ६ गते लहान नगरपालिका–२ बस्दै आएका प्रमोदकुमार साह आफ्नो पसलमा कार्यरत कामदार लिन बिहान साँढे ९ बजे घरबाट निस्किएका थिए । स९प९९९२ नम्बरको मोटरसाइकल लिएर निस्किएका उनी पूर्वपश्चिम लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ सडक पार गर्दै गर्दा अत्यन्तै तीव्र गतिमा पश्चिमबाट हुँइकिँदै गरेको स७प२७१ नम्बरको मोटरसाइकलले ठक्कर दियो । र, उपचारकै क्रममा मंसिर २१ गते उनी बिते । चालक भने दुर्घटना भएकै दिनदेखि फरार थिए । मोटरसाइकल त्यही छोडेर भागेकाले स्थानीयले प्रहरीकहाँ बुझाए । पीडितका छोरा प्रशान्तले साउन ८ गते इलाका प्रहरी कार्यालय, लहानमा किटानी जाहेरी दिए ।
यादवले चलाएको सवारी साधनले दिएको ठक्करले बुवाको ज्यान गएको भन्दै उनले २०७९ असार ५ गते ‘सवारी ज्यान मुद्दा’ दर्ता गरे । तर, मुद्दा चल्यो ‘सवारी अंगभंग’ को । ०७८–सी १–०४३०० मा दर्ता भएको मुद्दा प्रतिवादी यादव फरार रहेकाले अदालतमा विचाराधीन थियो । गत फागुन १९ गते यादव अचानक अदालतमा उपस्थित भए । न्यायाधीश मनोज केसीको इजलासले सोही दिन उनलाई थुनामा पठाउने आदेश दियो । त्यसको तीन दिनपछि जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलाशले प्रतिवादी यादवलाई सुनपानीले चोख्यायो ।
फागुन २० गते बिदा परेकाले २१ गते प्रतिवादीका साक्षीको बकपत्र गराइयो । र २२ गतेका लागि पेशी तोकी प्रतिवादी यादवलाई सफाइ दिने काम भयो । न्यायाधीश अधिकारीसहित कर्मचारी गुन्जेश्वर महतो र अशोक महतोलगायतले प्रतिवादीका कानुन व्यवसायीसंग अनुचित लाभ लिएर फैसला गरेको पीडितको आरोप छ ।
फागुन १९ गते थुनछेकमा पठाएको अभियुक्तले दुई दिनपछि नै सफाइ पाउनुले ‘दालमा केही कालो’ भएको संकेत गरेको पीडित बताउँछन् । १९ महिनासम्म प्रहरीले फरार भनेको प्रतिवादी एक्कासी हाजिर हुनु र प्रहरीले सुइँकोसम्म नपाउनु शंकास्पद रहेको पीडितले हालेको निवेदनमा उल्लेख छ ।
प्रतिवादी यादवले आफूसंग सवारी चालक अनुमतिपत्र नभएको बताएका छन् । सो दिन गाउँका सोना यादव भन्नेले आफ्नो आमासंग मोटरसाइकल मागेर लगेको उनले दिएको बयानमा उल्लेख छ ।
जबकि सो नम्बर प्लेटको मोटरसाइकल अझैपनि प्रहरी कार्यालयमा छ । ‘ठक्कर दिएको होइन भने मोटरसाइकल किन प्रहरी कार्यालयमा छ ? प्रत्यक्षदर्शीले घटनास्थलबाट मोटरसाइकल समातेका हुन् । प्रतिवादीको हुँदै नभएको साक्षी आयो । बकपत्र गर्यो अनि दोषीलाई उम्काइयो । यहाँ ठूलै मिलोमतो छ भन्ने त स्पष्ट बुझिन्छ’, स्रोतले भन्यो ।
टिप्पणीहरू