पच्चीस लाख बोक्ने लालकुमार, बिलखबन्दमा शिवकुमार

पच्चीस लाख बोक्ने लालकुमार, बिलखबन्दमा शिवकुमार

एउटा संस्थाका अध्यक्ष होटलमा खाजा खान्छन् र टेबुलमै झोला छाडेर शौचालय जान्छन् । शौचालय गएका बेला झोलाबाट हस्ताक्षरसहितको चेक हराउँछ र त्यो कुरा अध्यक्षले भोलिपल्ट मात्रै थाहा पाउँछ । अनि चेक हराएको ९ दिनपछि मात्रै कार्यसमिति बैठकले निर्णय गर्छ । 

यो नाटकीय लाग्ने घटना २०७९ साल माघ १४ गतेको हो । मकवानपुरको मनहरी गाउँपालिका– ६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार विश्वकर्माले दिएको जाहेरी,  तालुकदार कार्यालय अर्थात सब डिभिजन वन कार्यालयलाई दिएको घटना विवरणको सारांश हो यो । 

विश्वकर्माका अनुसार मनहरी–६ स्थित पूर्व–पश्चिम राजमार्गमै जोडिएको दिदी बहिनी होटलमा खाजा खाने क्रममा चेक हराएको थियो । सोही होटल रहेको घरका मालिक विकास भनिने लालकुमार थिङले वन समूहको हेटौँडास्थित राष्ट्रिय बाणिज्य बैँकको मूल खाता नं १३००१००००२४६५००१ बाट २५ लाख रुपैयाँ माघ १८ गते नै कामना सेवा विकास बैँकमा रहेको आफ्नो खाता नं ४९१४१००५५३८७७०००००१ मा सारिसकेको पाइएपछि अध्यक्ष विश्वकर्मासहित कार्यसमिति छाँगाबाट खसेको झैँ भए ।

 

‘त्यो थाहा पाएको दिनबाट अहिलेसम्म निद्रा लागेको छैन,  म पूरै डिप्रेसन र असुरक्षितजस्तो भएर हिँडेको छु’,  विश्वकर्माले जनआस्थासँग भने । जब वन्यजन्तु संरक्षणका लागि बनाइएको पोखरीवापतको खर्च रकम झिक्न अध्यक्ष विश्वकर्मासहित पदाधिकारीहरू बैँक पुगे,  त्यसपछि मात्रै चेक हराएपछिको यस्तो गम्भीर विषयको उद्घाटन भयो । घटना सार्वजनिक भइसक्दा २५ लाख गुमिसकेको थियो । 

त्यसपछि निराश भएका विश्वकर्मालाई विकास भनिने लालकुमार थिङले थप तनाव दिन थाले । ‘मैले जानाजान तँलाई फसाएको हुँ,  तँसँग अब मर्नुबाहेक कुनै उपाय छैन भन्दै मलाई निरन्तर धम्क्याइरहे’,  विश्वकर्मा भन्छन्–‘म सामान्य दलितको छोरो,  त्यत्रो पैसा कहाँबाट कसरी मिलाउने भनेर तनाव भइरह्यो ।’ त्यसपछि समूहको फागुन ५ गते बसेको बैठकले विकास भनिने लालकुमारलाई कारबाही गर्न कानुनी प्रक्रिया थाल्ने निर्णय गरेको समूहको बैठक पुस्तिकाबाट प्रष्ट हुन्छ । 

गुपचुप राख्ने प्रपञ्च 

घटनापछि पनि लालकुमार भागेका थिएनन् । विश्वकर्मासँग फोन र भेटमै पनि धम्कीपूर्ण व्यवहार गरिरहेको विश्वकर्मासहितका सहकर्मीहरू बताउँछन् । जब उनलाई यो घटनापछि प्रहरीमा निवेदन दिई पक्राउ गरियो,  त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुद्दा नचलाई चैत २० गतेभित्र रकम जम्मा गर्ने भाका दिएर छाड्यो । यो कामका लागि प्रहरीमा सहजीकरण गर्नेहरू विभिन्न राजनीतिक दलका मानिस,  बिचौलिया र जनप्रतिनिधि पनि थिए भनिन्छ । समुदायको रकम हिनामिना गर्नेलाई यस्तो छुट दिएकामा मकवानपुर प्रहरीप्रति पनि प्रश्न तेर्सिएको छ । त्यसो त प्रहरीले,  जाहेरी दर्ता गर्नै नमानेर अल्झाउने नीति लिएको र यही बीचमा लालकुमार फरार हुने अवस्था सिर्जना गरिदिएको पनि हल्ला छ । धेरै हल्लाखल्ला भएपछि सब डिभिजन वन कार्यालय मनहरीले वन समूहलाई पत्र काटेर के कसो भएको हो भनी स्पष्टिकरण सोधेको छ । 

ठेकेदार पृष्ठभूमि भएका लालकुमार अहिले प्रहरीको सम्पर्कमा छैनन्,  वन समूहको सम्पर्कमा पनि छैनन् । इलाका प्रहरी कार्यालय मनहरीमा चैत ५ गते दर्ता नं ९० अन्तर्गत चोरी मुद्दा दर्ता भएको छ । प्रहरीले उनलाई पक्रन प्रयास गरिरहेको बताएको छ । तर,  ‘रात रहे,  अग्राख पलाए’ भनेझैं लालकुमार कता पुगे कता ? वन समूहका अध्यक्ष यता बिलखबन्दमा छन् । त्यसो त लालकुमारले उही दिदी बहिनी होटल रहेको घर,  जग्गा जमिन सबै बिक्री गरिसकेको हल्ला छ । उनले वन समूहबाहेक अन्यत्र (मिटरब्याजवाला) को पनि राम्रै रकम संकलन गरेको बताइन्छ । 
 

टिप्पणीहरू