मीटरब्याज पीडितलाई थानामा लगेर कुटिएको भन्दै मानव अधिकार आयोगको आपत्ति
राष्ट्रिय मानव अधिकार आयोगले धर्नामा रहेका मीटरब्याज पीडितहरुमाथि प्रहरीद्धारा भएको अत्यधिक बल प्रयोग र धरपकडप्रति आपत्ति जनाएको छ ।
केही दिनदेखि काठमाडौंको शान्तिवाटिकामा आन्दोलनरत मीटरब्याज पीडितले हिजो सिंहदरबार अगाडि प्रदर्शन गर्न लाग्दा प्रहरीले रोकेको थियो । त्यसक्रममा केही प्रदर्शनकारी घाइते भएका थिए । उक्त घटनाप्रति आयोगले चासो देखाउँदै आयोगले धरपकड नगर्न भनेको हो ।
घटनाको स्थलगत अनुगमन गरेको बताउँदै आयोगले शान्तिपूर्ण धर्नामा रहेका पीडितहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न प्रहरीले रोक लगाएपछि झडप भएको निष्कर्ष निकालेको छ । प्रहरीले धरपकड गर्दै पीडितहरुको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्री जबरजस्ती उठाएको र उनीहरुलाई महेन्द्र पुलिस क्लबको परिसरमा लगेर कुटपिट गरेको आयोगले बताएको छ ।
कुटपिटबाट घाइते भएकाको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको उल्लेख गर्दै आयोगले उनीहरुको प्रभावकारी उपचारको व्यवस्था मिलाउन माग पनि गरेको छ । आज विज्ञप्ति जारी गर्दै आयोगले नागरिकको मर्यादित रुपमा विचार राख्ने र शान्तिपूर्ण आन्दोलन गर्ने स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको बताएको छ । त्यस्तै, सार्थक संवादमार्फत समस्या समाधान गर्नुपर्नेमा पनि जोड दिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचारहरु राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीहरुमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’
टिप्पणीहरू