व्यवस्था जोगाउन जीतनारायणको जीत अनिवार्य : नेता सिंह

व्यवस्था जोगाउन जीतनारायणको जीत अनिवार्य : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्न सत्ता गठबन्धनका उम्मेदवारले उपचुनाव जित्नुपर्ने दावी गरेका छन् । आज चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र व्यवस्थाको स्थायित्वका लागि लोकतन्त्रवादीहरुले चुनाव जित्नुपर्ने बताएका हुन् ।  

जनताले आबेगमा नभई विवेकले मतदान गर्नेमा आफू विश्वस्त रहेको भन्दै उनले स्थानीय र सक्षम उम्मेदवारलाई भोट हाल्न अपिल पनि गरे । 'सधै सुखदु:खमा उभिने, सबैकाे घर आँगनमा सजिलै भेटिने उम्मेदवारका पक्षमा मतदान गर्नु भनेकाे राजनीतिप्रतिकाे सम्मान पनि हो', नेता सिंहले भने ।

अहिले संविधान र व्यवस्थामाथि सडकबाट प्रश्न उठिरहेकाले ठूला राजनीतिक दलहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएका सिंहले स्थानीय उम्मेदवारले जिते जनतालाई चित्त बुझाउन सक्ने र व्याप्त असन्तुष्टी साम्य हुने दाबी गरे । 

गत आमचुनावमा भारी मतान्तरले जितेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेपछि उनको सांसद पद खारेज भएको थियो । त्यसपछि रिक्त रहेको चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपचुनाव हुँदैछ । 

त्यहाँ सत्ता गठबन्धनले काँग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने एमालेबाट राम न्यौपाने प्रतिष्पर्धामा छन् । स्वतन्त्र पार्टीले पुन: सभापति लामिछानेलाई उम्मेदवार बनाएपछि त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ । 

चितवन-२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएका दलहरु यतिबेला चुनावी अभियानमा छन् । लामिछानेलाई 'टुरिष्ट उम्मेदवार' भन्दै काँग्रेस र एमालेका नेताहरुले स्थानीय व्यक्तिलाई भोट हाल्न मतदातालाई आग्रह गरिरहेका छन् ।

टिप्पणीहरू