मोरङमा प्रहरी संरक्षणमा चौबिसैघण्टा जुवाको खाल सञ्चालन भएको स्थानीयको आरोप

मोरङमा प्रहरी संरक्षणमा चौबिसैघण्टा जुवाको खाल सञ्चालन भएको स्थानीयको आरोप

विराटनगर महानगरपालिकासँगै जोडिएको ग्रामथान गाउँपालिकामा संस्थागतरूपमा अवैध जुवा खेल सञ्चालन हुने गरेको पाइएको छ  । ग्रामथानको मोतिपुर र तेतरियामा करोडौँको हारजित हुनेगरी दैनिकरूपमा जुवा सञ्चालन हुने गरेको तथ्य फेला परेको हो । 

जुवाका कारण पूरै गाउँ प्रभावित बन्दै गएको स्थानीयको गुनासो छ  । धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारीसमेतका ठाउँबाट जुवाडे बोलाएर अवैधरूपमा जुवा सञ्चालन हुुँदा पनि स्थानीय प्रशासन भने मौन देखिन्छ । मोरङका प्रहरी प्रमुख एसपी दिपक पोखरेल र प्रदेश प्रहरी प्रमुख एसएसपी राजेश बास्तोला यस सम्बन्धमा जानकार हुँदाहुँदै पनि मुकदर्शक बनेको स्थानीयले आरोप लगाएका छन् ।

जुवाको खालबाट स्थानीय प्रहरी चौकी मोतीपुर एकाध किलोमिटरको दूरीमा पर्छ । तर, प्रहरीले नदेखेझैँ गरेपछि जुवाले प्रश्रय पाएको स्थानीयको गुनासो छ । केही महिनाअगाडि उक्त जुवा खालबाट जुवा सञ्चालकदेखि केही जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले सेटिङमा कारबाही नगरी छाडेको स्थानीय बताउँछन् । उक्त घटनापछि जुवा खेलले झनै व्यापक रूप लिएको हो । महानगरको क्षेत्रभन्दा करिब १० किलोमीटर फरकमा सञ्चालन हुँदै आएको ती जुवामा धनाढ्य परिवारका मानिस जाने भएकाले प्रहरी, प्रशासनले नै सुरक्षा दिएको स्थानीयको आरोप छ । 

स्रोतका अनुसार सुनसरीको मोरङ सिँचाइ आयोजनाअन्तर्गत सञ्चालनमा रहेको ग्रामथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवम् हरीनगरा माहादेवकोल सिँचाइ योजनाका अध्यक्ष सुदिप कुुमार माझीले कौडाको खाल लामो समयदेखि सञ्चालन गर्दै आएका छन् ।

उक्त जुवाको खाल लामो समयदेखि सञ्चालन हुुँदै आएका कारण विराटनगरका व्यापारी तथा छिमेकी जिल्लाका जुवाडेको व्यापक सहभागिता हुने गरेको छ  । यसरी अवैधरूपमा सञ्चालन भएको जुवाका कारण ग्रामीण वातावरण नै धुमिल बनेपछि स्थानीयको विरोध सुरु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलवारी मातहतको मोतीपुर प्रहरी चौकी जिल्ला प्रहरी कार्यालय मोरङको निर्देशनमा सञ्चालन हुन्छ । मोरङ जिल्ला प्रहरी कार्यालयलाई कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा सञ्चालन गरेको छ । प्रहरी संगठन चेन अफ कमान्डमा सञ्चालन हुने भएकाले सबै घटनाको जानकार हुँदा पनि मुकदर्शक भएर बसेपछि अवैध जुवाको खालले जरो गाडेको स्थानीयको निचोड छ ।

टिप्पणीहरू