रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि शुरु, रथयात्राको रुटमा पर्ने सडक बनाइदिन आग्रह

रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि शुरु, रथयात्राको रुटमा पर्ने सडक बनाइदिन आग्रह

काठमाडौं उपत्यकामा मनाइने रातो मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु हुँदैछ । वैशाख शुक्ल प्रतिपदाबाट शुरु हुने उपत्यकाकै सबैभन्दा लामो जात्रा आज साँझ रथारोहणसहित शुभारम्भ गरिने छ । 

आज बेलुका ५ बजे गुरुजु–जङ्गी पल्टन (नेपाली सेना) को तोप सलामीसहित रातो मच्छिन्द्रनाथ देवताको पूजा गरेर तःबहालदेखि पुल्चोकसम्म खटयात्रा गरी पौरणिक बाजागाजासहित रथारोहण गराउने कार्यक्रम रहेको छ । 

वर्षा र सहकालका देवताको रुपमा परिचित ऐतिहासिक एवं सांस्कृतिक रातो मच्छिन्द्रनाथको रथ आउँदो वैशाख ११ गतेबाट तान्ने साइत रहेको गुठी संस्थान, ललितपुरले जनाएको छ । मच्छिन्द्रनाथको दर्शन गर्दा सुःख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने जनविश्वास छ । रातो मच्छिन्द्रनाथ हेर्नेको घुँइचो हुने भएकाले संस्थानले रथ यात्राको रुट तोकेको छ । 

११ गते पुल्चोकदेखि गाः बहालसम्म रथ यात्रा गरिनेछ । १२ गते गाःबहालदेखि मंगलबजार र १३ गते मंगलबजारदेखि पाटन सुन्धारासम्म रथ पुर्याइने छ । त्यहाँ दुई दिन रथ राखेर १५ गते चक्रवहिलसम्म यात्रा गर्ने कार्यक्रम रहेको संस्थानले जनाएको छ । १६ गते चक्रवहिलबाट रथ तानेर लगनखेल पुर्याइने बताइएको छ । 

संस्थानका अनुसार त्यसको भोलिपल्ट राति महाबली पर्व सञ्चालन गरिनेछ । त्यसपछि लगनखेलबाट नरिवल खसालेर स्थल देउलाटोसम्म पुर्याउने जनाइएको छ । त्योसंगै नरिवलजात्रा र देवाली पूजाको मिति तोक्ने तय भएको छ । देवालीकै दिन ज्योतिषले सोह्रखुट्टे पार्टीमा जावलाखेल रथ तान्ने साइत तोक्नेछन् । नरिवल जात्राको भोलिपल्ट बिहान महिलाहरुले रथ तानेर थटि र चारदोबाटोसम्म पुर्याउने छन् । 

त्यस्तै, जावलाखेल पुर्याउनुभन्दा एकदिन अघि भूजापर्व र नरिवल जात्रा पर्व सञ्चालन गरेर थटिबाट जावलाखेलसम्म रथ तानिनेछ । जावलाखेलमा रथ विराजमान गराइएको चौथों दिनमा भोटो देखाइनेछ ।

मितिले रथ यात्रा गराउने रुट हेरेर बाटोको आवश्यक मर्मत गरिदिन जिल्ला प्रशासन कार्यालय, ललितपुरसंग आग्रह गरेको छ ।
 

टिप्पणीहरू