विप्लवको कार्यक्रममा दुई पूर्वप्रधानमन्त्रीले बोल्ने
मूलधारको राजनीति बाहिर रहेर आफ्ना गतिविधि चलाइरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ । भोलि काठमाडौँको खुलामञ्चमा बृहत कार्यक्रम आयोजना गरी विप्लव समूहले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउन लागेको बताइएको छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न कम्युनिष्ट घटकका शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।
त्यस्तै, सो पार्टीका महासचिव विप्लव, पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, वैज्ञानिक समाजवादी पार्टीका नेता विश्वभक्त दुलाल आहुति र माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले पनि उक्त कार्यक्रममा सहभागिता जनाउनेछन् ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुगेको छ । कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा २००६ साल बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो ।
स्थापनाकालमा एउटै पार्टीका रुपमा रहेका नेपालका कम्युनिष्टहरु अहिले दर्जनौँको संख्यामा अस्तित्वमा छन् । उनीहरुले आ–आफ्नो तरिकाले विभिन्न कार्यक्रम आयोजना गरी बैशाख ९ लाई पार्टी स्थापना दिवसका रुपमा मनाउँदै आएका छन् ।
टिप्पणीहरू